निर्विरोध निर्वाचित हुनेमा एमालेका भन्दा नेकपा 'एस'का उम्मेदवार धेरै - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

निर्विरोध निर्वाचित हुनेमा एमालेका भन्दा नेकपा ‘एस’का उम्मेदवार धेरै



डोल्पाका तीन वटा गाउँपालिकाको नेतृत्व निर्विरोध चयन भएको छ। आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्तामा डोल्पाका तीन वटा पालिका प्रमुखमा एकल उम्मेदवारी परेको प्रमुख जिल्ला अधिकारी बेधनिधि अधिकारीले जानकारी दिए।

दुई वटा पालिकामा प्रमुख, उपप्रमुख र वडाको नेतृत्व पनि निर्विरोध भएको छ भने एउटा गाउँपालिकामा पालिका अध्यक्ष निर्विरोध निर्वाचित भएको प्रजिअ अधिकारीले जानकारी दिए। डोल्पाको काइके गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका अंगत राना निर्विरोध भएका छन्। अध्यक्षमा रानाको एकल उम्मेदवारी परेको हो।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी निमा बुढा निर्विरोध भएकी छन्। यहाँ समाजवादी र कांग्रेसले गठबन्धन गरेर उम्मेदवारी दिएको थियो। काइकेमा सात वटै वडामा पनि सर्वसम्मत नेतृत्व चुनिएको छ। ‘काइकेका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’ प्रमुख जिल्ला अधिकारी बेधनिधि अधिकारीले भने, ‘नाम भने आइसकेको छैन्।’

यस्तै छार्काताङसोङ गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। छार्काताङसोङमा समाजवादीका सेनाङ गुरुङ अध्यक्षमा सर्वसम्मत भएका छन्। यहाँ उपाध्यक्षमा एमालेका कार्मा गुरुङको एकल उम्मेदवारी परेको छ। छार्काताङसोङका छ वटै वडामा पनि निर्विरोध नेतृत्व चयन भएको छ। डोल्पामा छ गाउँपालिका र दुई नगरपालिका छन्।

डोल्पाको शे–फोक्सुण्डोमा एमालेका धावा सुन्दुक गुरुङको एकल उम्मेदवारी परेको छ। उपाध्यक्षमा भने तीन जनाले मनोनयन गर्दा गराएको प्रजिअ अधिकारीले जानकारी दिए। ‘शे–फोक्सुण्डोमा एमालेका गुरुङ निर्विरोध निर्वाचित भएका छन्,’ उनले भने, ‘उपाध्यक्षमा एक स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको छ।’ उनका अनुसार उपाध्यक्षमा एमालेबाट कुञ्जन डोमा लामा, माओवादी केन्द्रबाट पेमा डोल्पा गुरुङको उम्मेदवारी परेको छ भने पेमा वाङ्सीङ गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।