एमालेमा केही क्रान्तिकारी साथीहरुलाई एमालेबाट मुक्त गर्नुपर्ने छ: प्रचण्ड - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमालेमा केही क्रान्तिकारी साथीहरुलाई एमालेबाट मुक्त गर्नुपर्ने छ: प्रचण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्रका क्रान्तिकारीहरुको नेतृत्व पनि आफूहरुले गर्नुपर्ने बताएका छन्। माओवादी एकता र ध्रुवीकरण कार्यक्रममा बोल्दै उनले एमालेभित्र पनि केही नेता कार्यकर्ता क्रान्तिकारी रहेको बताए।

उनले भने, ‘एमालेमा केही क्रान्तिकारी साथीहरु छन्। उनीहरु बन्दी जस्तै भएर बसेका छैन्। उनीहरुको नेतृत्व हामीले गर्नुपर्छ। उनीहरुलाई मुक्त गर्नुपर्छ।’ उनले एमाले नेताहरुले ‘प्रचण्डले कब्जा गर्न थालेको थियो’ भन्नुको अर्थ रहेको बताए। थपे, ‘एकताका समयमा धेरै एमालेका साथीहरुले बल्ल नेता भेटियो भन्नुभएको थियो। त्यसैले त्यहाँका साथीहरुलाई गोलबन्द गरेर हामीले नेतृत्व गर्नुपर्छ।’

माओवादी एकता र ध्रुवीकरण भनेको कम्युनिष्टकै केन्द्र बन्ने अभियान रहेको उनको भनाइ छ। माओवादीहरु फेरि एक ठाउँ जम्मा हुनु राम्रो भएको बताउँदै त्यतिले मात्रै समाजवादतर्फ जाने उद्देश्य पूरा नहुने बताए। ‘माओवादी मात्रै जम्मा भएर समाजवादी आन्दोलन सफल पार्न मुश्किल पर्छ। अरु कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई ल्याउनुपर्छ र नेतृत्व हामीले गर्नुपर्छ,’ उनले भने, ‘सम्पूर्ण इमानदार कम्युनिष्टलाई नेतृत्व गर्ने ताकत हामीसँग छ।’

हिजो कहिले दायाँ गएर वा बायाँ गएर सिध्यायो भन्दै आरोप लगाएर माओवादी नेताहरु छुट्टिए पनि नेतृत्वमा डायनामिक आफू नै रहेको अहिले प्रमाणित भएको बताए।

उनले अहिले सवै माओवादी केन्द्रमा फर्किन लालायित रहे पनि प्रचण्ड बन्ने सपना बोकेका कतिपय लाजले आउन नसकेको उल्लेख गरे। तर ढिलोचाँडो आउने उनले बताए।