लिपुलेकमा भारतले सडक विस्तार गरिरहँदा सरकार मौन बसेको भन्दै एमालेको आपत्ति - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

लिपुलेकमा भारतले सडक विस्तार गरिरहँदा सरकार मौन बसेको भन्दै एमालेको आपत्ति



काठमाडौं । नेकपा (एमाले)ले भारत सरकारले नेपाली भूमि लिपुलेकमा ‘सडक विस्तार गरिरहेको’प्रति विरोध जनाएको छ ।

एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गरेर भारतले गरिरहेको सडकसहितका संरचना निर्माण रोकिनुपर्ने र वार्ताको माध्यमबाट समस्या समाधान गरिनुपर्ने बताएका छन् ।

“नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ । सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ,” विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियतासँग जोडिएका गम्भीर विषयमा सरकार मौन रहँदा अनेकौं प्रश्न जन्माएको भट्टराईले बताएका छन् ।

उनले भारत सरकारसँग तत्काल गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू-भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न पनि माग गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर ३० मा उत्तराखण्डको एक चुनावी सभालाई सम्बोधन गर्दै लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताएका थिए ।