एमाले अध्यक्ष ओलीसंग कांग्रेस युवा नेता विश्वप्रकाशलाई चुनाव लडाउने तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमाले अध्यक्ष ओलीसंग कांग्रेस युवा नेता विश्वप्रकाशलाई चुनाव लडाउने तयारी



काठमाडौं, कात्तिक ३ 

नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली उठ्ने निश्चित जस्तै भएकाले यो क्षेत्रमा युवा नेता शर्मालाई उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ ।

शर्मालाई झापा क्षेत्र नम्बर एकबाट उम्मेदवार बनाउन गाउँ कमिटीदेखि नै सर्वसम्मत सिफारिस गरिएको भएपनि कांग्रेसका शीर्ष नेताहरुले नै ओलीलाई हराउन शर्मा उम्मेद्वार बने झापा ५ मा ओलीलाई हराउन सक्ने आँकलन गर्दै तयारी गरिएको श्रोतको दाबी छ ।

नेता शर्माले यसबारे पार्टीमा चर्चा भइरहेको तर चुनाव कहाँबाट लड्ने टुंगो भइनसकेको बताउनुभयो । आफू पार्टीको इमान्दार सिपाही भएको भन्दै उहाँले पार्टीले निर्णय गरेको ठाउँबाट चुनाब लड्ने बताउनुभयो ।

शर्मा संविधानसभाको चुनावमा झापाको क्षेत्र नम्बर एकमा एमालेका रविन कोइरालासँग थोरै मतले पराजित हुनुभएको थियो । चारवटा स्थानीय तह रहेको झापा ५ एमालेको राम्रो पकड भएको क्षेत्र हो । स्थानीय तहको चुनावमा एमालेले बहुमत ल्याएको छ । तर राप्रपाको पनि राम्रो पकड भएकाले यो क्षेत्रमा नयाँ पुस्तामा लोकपृय रहेका नेता शर्मा उम्मेदवार बने ओलीलाई हराउन सक्ने का‌ंग्रेसको आँकलन छ ।

यो क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह गाउँपालिकाको ९ नम्बर बाहेकका ८ वटा वडा र गौरीगञ्ज गाउँपालिकाका ३ ४ ५ र ६ नम्बर वडा पर्दछन् । दमक एमाले अध्यक्ष ओलीको गृहनगर हो । जहाँका १० मध्ये ८ वटा वडामा एमाले विजयी भएको थियो ।

स्थानीय तहको चुनावमा मेयरमा कांग्रेसका उम्मेद्वार चौथो स्थानमा रहेको दमकमा राप्रपा दोश्रो र माओवादी केन्द्र तेश्रो स्थानमा थिए । कमल गाउँपालिकामा भने एमाले र काँग्रेसको बराबरी मत आएपछि एमाले उम्मेद्वार गोलाप्रथामा विजयी भएका थिए । यो क्षेत्रको अर्को गाउँपालिका गौरादहका धेरै वडामा एमाले विजयी भएको थियो । काँग्रेसले जितेको ९ नम्बर वडा क्षेत्र नम्बर ५ मा पर्दैन । अर्को गाउँपालिका गौरीगञ्जमा भने एमाले अल्पमतमा छ । राप्रपाको पकड रहेको यो क्षेत्रमा राप्रपा पहिलो काँग्रेस दोश्रो र एमाले तेश्रो स्थानमा रहेका थिए ।

एमाले अध्यक्ष ओली पहिलो संविधानसभामा बाहेक ०४८ सालदेखि झापा ७ बाट विजयी हुँदै आउनुभएको छ । पहिलको झापा ७ मा केही ठाउँ हेरफेर भएर अहिलेको क्षेत्र नम्बर ५ बनेको हो । ओली २०४८, २०५१, २०५६ र संविधानसभाको दोश्रो चुनावमा यहि क्षेत्रबाट विजयी हुनुभएको थियो । २०५६ सालमा झापा २ बाट पनि विजयी भएका ओलीले उप निर्वाचनमा झापा ७ नम्बर क्षेत्र छोड्नुभएको थियो । उप निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले जितेको थियो ।