एमाले विभाजनको छिनोफानो आज हुने - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

एमाले विभाजनको छिनोफानो आज हुने



काठमाडौं– नेकपा एमालेको जारी लामो विवाद आज शनिबार बस्ने स्थायी कमिटी बैठकबाट वार कि पार हुने भएको छ।

पार्टीका विभिन्न तहका नेताहरुको श्रृंखलाबद्ध बैठक र कार्यदलको १० बुँदे सहमतिबाट पनि विवाद टुंगो लगाउन नसकेपछि संस्थापनका नेताहरुले आज बस्ने बैठक विवाद समाधानका लागि अन्तिम प्रयास हुने बताएका हुन्।

आजको बैठकले पार्टी विभाजित हुने या एकीकृत नै रहने भन्ने टुंगो लाग्ने नेताहरुले भनाइ छ। शुक्रबार पार्टी कार्यालयमा आयोजित बैठकमा महासचिव इश्वर पोखरेलले भनेका थिए, ‘अब धेरै प्रतिक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ। शनिबार बस्ने स्थायी कमिटी बैठकबाट वारपार हुन्छ।’

विवाद समाधान नहुने देखिएपछि माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने तयारीमा छ। यद्यपि उक्त समूह पार्टी विभाजनको अन्तिम घोषणाको प्रतिक्षामा छ।

हालै सकिएको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले पनि कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गर्दै अन्तिम समयसम्म पार्टी एकताका लागि प्रयास गर्ने निर्णय गरेको थियो। त्यसयता पनि पार्टीको दोस्रो तथा तेस्रो तहका नेताहरुले एकता प्रयासलाई जारी राखे पनि टुंगो लाग्न सकेको छैन।

माधव नेपालले केही दिनअघि बसेको आफ्नो पक्षको स्थायी कमिटी बैठकमा आफूलाई अध्यक्ष केपी ओलीले दोस्रो अध्यक्ष दिने प्रस्ताव गरेको भन्दै त्यसका लागि सुझाव मागेका थिए। तर संस्थापन पक्षले त्यस्तो कुनै प्रस्ताव नभएको भन्दै उक्त व्यवस्था विधानमै नभएको जनाइसकेको छ। यद्यपि नेपाल पक्षका नेताहरुले ओलीले त्यस्तो प्रस्ताव गरेको भए पनि नस्वीकार्न नेपाललाई सुझाव दिएका थिए।