७० वर्ष उमेरहद हटाएर अध्यक्ष बनाए एमालेमा फर्किने बामदेवको प्रस्ताव - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

७० वर्ष उमेरहद हटाएर अध्यक्ष बनाए एमालेमा फर्किने बामदेवको प्रस्ताव



काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको विधानबाट उमरहद सच्याएर आफुलाई अध्यक्ष बनाउने सर्त राख्दै एमालेमा फर्किने प्रस्ताव गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई पार्टीमा फर्कन आग्रह गरेपछि उनले सर्त राख्दै एमालेमा फर्किने इच्छा प्रकट गरेका हुन् ।

बुधबार दिउँसो ललितपुरको भैँसेपार्टीस्थित गौतमनिवास पुगेका ओलीले एमालेमा फर्किन आग्रह गरेका थिए । एमालेमा ७० वर्ष पुगेपछि कार्यकारी पदमा बस्न नपाउने नियम छ ।

कार्यकारी पदमा बस्नकै लागि गौतमले ७० वर्षे उमेरहद हटाए सोच्न सकिने जवाफ ओलीलाई दिएका छन् ।

‘तपाईंले बनाएको पार्टी हो, किन पार्टीबाट बाहिर बस्नुहुन्छ, पार्टीमा पर्खनुस भन्नुभयो, गौतमले भने, “त्यहाँ (७० वर्षे) उमेरहद छ, मैले पहिले उमेर हद हटाउनुस्, त्यसपछि आउन सक्छु भनेको छु ।’

एमालेको विधानमा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य हुन ७० वर्ष उमेर नपुगेको हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउन माग हुँदै आएको छ ।

नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका छन् । गौतमले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि छलफल गर्दै आएका छन्।