एमालेले देशभर 'छोराछोरी' अभियान चलाउने - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

एमालेले देशभर ‘छोराछोरी’ अभियान चलाउने



काठमाडौं । नेकपा एमालेले देशभर ‘छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

हालै दुई महिने ‘मिसन ग्रासरुट’ सम्पन्न गरेको एमालेले युवाको उपस्थिति कम भएको निष्कर्ष निकाल्दै ‘देशैभरि छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले बिहीबारबाट पार्टी मुख्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ‘देशैभरि छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा मुलुकमा ‘युवाको आकर्षण घटिरहेको’ देखिएको उल्लेख गरेका छन् ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘अहिलेका युवाहरू’ आफैं नेता, आफैं प्रधानमन्त्री’ जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन् । यसलाई कसरी सम्बोधन गर्ने ? के हामी प्रत्येक वडामा १० जनाका दरले भावी वडा नेता कार्यक्रम चलाउन सक्छौं ?’

पार्टी संरचनामा पाका नेता/कार्यकर्ताको संख्या पनि अति कम देखिएको प्रतिवेदनमा उल्लेख छ । औसत उमेर ४५ को हाराहारीमा देखिएकाले ओलीले ३५ वर्षमुनिका युवालाई लक्षित गरी अभियान चलाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

अभियानका क्रममा युवाको खोजी भएको उल्लेख गर्दै उनीहरूलाई प्रशिक्षण कार्यक्रम (इन्कुभेसन सेन्टर) खोल्नुपर्ने प्रस्ताव पनि अध्यक्ष ओलीको छ ।

नेता–कार्यकर्ताकै छोराछोरी पार्टीमा नजोडिएको कुरालाई सम्बोधन गर्ने ‘देशैभरि–छोराछोरी’ अभियान सञ्चालनका लागि प्रस्ताव गरिएको हो ।