आजको संसद बैठक एमालेले अवरुद्ध गर्ने - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

आजको संसद बैठक एमालेले अवरुद्ध गर्ने



बिहिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अवरुद्ध गर्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । सोहि क्रममा एमालेले संसद अवरुद्ध गर्ने जनाएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री देउवाले रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको कार्यलयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

त्यस्तै जनार्दन शर्माले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि जवाफ दिने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष एमालेले अर्थमन्त्रीले बजेट तयार पार्ने क्रममा अनाधिकृत व्यक्तिहरू प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको भन्दै अर्थमन्त्रीको विरोध गरिरहेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि अर्थमन्त्री बोल्दा एमाले सांसदहरुले संसद अवरोध गर्ने तयारी गरेका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको बैठकमा अर्थमन्त्रीको जवाफ दिने बेला आफुहरुले विरोध गर्ने बताए । ‘हाम्रो कुरा प्रस्ट छ, हामी विरोध गर्छौ’, नेम्वाङको भनाइ छ ।