उम्मेदवारविरुद्ध आज साँझ पाँच बजेसम्म उजुरी दिन सकिने - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

उम्मेदवारविरुद्ध आज साँझ पाँच बजेसम्म उजुरी दिन सकिने



काठमाडौँ : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ।

बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आज उजुरी दिन सकिनेछ।

प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता कार्य सम्पन्न भएको थियो। दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। ती उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो।

प्रतिनिधिसभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको छ। यसैगरी, प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको छ।

निर्वाचन कार्यक्रमअन्तर्गत भोलि उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। कात्तिक १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने सूची रहेको छ।

निर्वाचनमा भाग लिन राजनीतिक दल र तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले हिजो बाजागाजासहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। रासस