एकनाथ ढकालले प्रधानमन्त्रीसँग सांसद पद मागेपछि - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकनाथ ढकालले प्रधानमन्त्रीसँग सांसद पद मागेपछि



काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संसदमा आाफ्नो दललाई सहभागी गराउन माग गरेका छन् ।

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेर पूर्वमन्त्रीसमेत रहेका ढकालले संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे माग गरेका हुन् ।

भेटमा उनले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको उक्त दलले विज्ञप्ति निकालेर जनाएको छ ।

तत्कालिन नेकपा एमाले र नेपाल परिवार दलबीच भएको ३ बुदें सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गराएको उनका निजि सचिव जितेन्द्र श्रेष्ठले बताए ।

गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ ।

चुनावको बेला परिवार दलले वाम गठबन्धनलाई सघाउँदै सूर्य चुनाव चिन्ह लिएर लड्ने र त्यसबापत प्रतिनिधि सभामा परिवार दलको प्रतिनिधित्व गराउने सहमति भएको थियो ।

यस विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ । ढकाल यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए ।

२०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ढकाल शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए ।