पार्टी एकता भोलि नै गर्ने तयारी, ढिला भए ६ गते ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पार्टी एकता भोलि नै गर्ने तयारी, ढिला भए ६ गते !



नेकपा एमाले र माओवादी केन्द्रबिच हुने भनिएको पार्टी एकताले गति लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पछि सुस्ताएको एकता प्रक्रियाले नयाँ गति लिने र तत्काल एकता घोषणा गर्ने अवस्था देखिएको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज बिहान दुई घण्टा एकतालाई अघि बढाउन छलफल चलेको थियो। चाँडै एकता घोषणा गर्न दुवै अध्यक्ष सहमत भएपछि दुवै पार्टीको आन्तरिक बैठक बोलाइएको छ।

माओवादी र एमालेका केही नेताको भनाई अनुसार अब एकताको विषयमा आएका अड्चनहरू समाप्त भएका छन् । पछिल्लो समय फिफ्टी-फिफ्टी, जनयुद्ध, जबज र दोस्रो तहका नेता व्यवस्थापनले अवरोध गरिरहेका थिए ।

माओवादीका एक नेताका अनुसार दुबै  पार्टीले कतिपय कुरामा कम्प्रोमाइज गरेर तुरुन्त एकता घोषणा गर्ने सहमति बनेको बताए ।

वैशाख ९ गते लेनिन दिवसको अवसरमा काठमाडौँमा आयोजित दुवै पार्टीको संयुक्त कार्यक्रममा प्रचण्डले ‘ड्याम्मै एकता हुन सक्ने’ बताएका थिए। उनले अब दायाँ-बायाँ गर्ने ठाउँ नभएको बताउँदै भनेका थिए, ‘अब हल्ला भएको दिन होइन, थाहा नभएको दिन ड्याम्मै पार्टी एकता हुन्छ। हेर्दै जानुहोला- तपाईँहरूले थाहा नपाएको दिन पार्टी एकता हुन्छ।’

उस्तै अभिव्यक्ति ओलीको पनि थियो। युवा सङ्घ नेपालको २८ औँ स्थापना दिवसको अवसरमा मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दिन दुई दिनको मिति राखेर पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका थिए। ‘कुनै पनि बेला, हामीलाई धेरै तयारी केही गर्नु छैन। गर्ने भनेपछि गर्ने। हामी दुई वा तीन दिनको समय राखेर पार्टी एकताको मिति घोषणा गर्न सक्छौँ र निकट समयमा घोषणा गर्न सक्छौँ’, उनले भनेका थिए।

बिहीबार बिहान एकता संयोजन समितिको बैठक डाकिएको छ । यही बैठकले सबै कुरा टुंग्याएर भोलिनै एकता हुन पनि सक्छ, भोलि नभएको खण्डमा ६ गते घोषणा हुने तयारी छ हिमालपोष्ट सँगको कुराकानीमा माओवादीका एक उपल्लो तहका नेताले भने ।