वैशाख ९ मा एकता हुँदैन ? कहिले हुन्छ त ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

वैशाख ९ मा एकता हुँदैन ? कहिले हुन्छ त ?



नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकतामा अनेक आशंका बढेर गएका छन् ।

दुवै दलले वैशाख ९ गते १४९ औं लेनिन जयन्ती (२२ अप्रिल) को अबसर पारेर पार्टी एकता गर्ने घोषणा गरेर त्यही अनुसारको तयारी गरिरहे पनि आवश्यक विषयमा छलफल हुन नसक्दा आशंका बढेर गएको हो । केही दिनदेखि दुई दलका शीर्ष नेताहरु ऋा–आफ्नै काममा व्यस्त भएका कारण एकताका विषयमा देखिएका विवाद मिलाउन सकिएको छैन ।

एमाले नेताहरुले ५०–५० का आधारमा पार्टी एकता हुन नसक्ने अभिव्यक्ती दिएपछि पार्टी कार्यकर्तामा पनि आशंका उत्पन्न भएको छ । माअ‍ोवादी केन्द्रले बराबरी हैसियतमा एकता गर्नुपर्ने प्रस्ताव उठाइरहेका बेला एमाले तर्किएको जस्तो देखिन्छ । नेकपा एमालेका अध्यक्षलगायतका शीर्ष नेताहरुले ५०–५० का आधारमा पार्टी एकता गर्न नसकिने घोषणा गरेका छन् । उनीहरुले हैसियतका आधारमा पार्टीको टुंगो लाग्ने दाबी गरिहेका छन् ।

त्यस्तै माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी हैसियतमा मात्र पार्टी एकता हुने बताएका छन् । साथै उनले कुनै पनि हालतमा वैशाख ९ गते नै पार्टी एकता हुने विश्वास देखाएका छन् । वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जनयुद्धविना र बराबरी विनाको एकता नस्वीकार्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिए । दीपशिखाले भने, ‘जनयुद्ध र बराबर हैसियतमा सहमति हुन्छ भने वैशाख ९ गते नै एकता गरौं । सहमति हुँदैन भने एकता पनि हुँदैन । त्यस्तो एकता वाईसीएलले मान्दैन भनेका छौं ।’

प्रचण्डले पनि वाईसीएलको धारणा आम माओवादी नेता–कार्यकर्ता र शुभेच्छुकहरुको पनि हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताएका थिए ।

वाईसीएल महासचिव सुवोध शेर्पालीका अनुसार एकीकृत पार्टीको अध्यक्ष दुईजना नराख्न पनि नेतृत्वको ध्यानाकर्षण गराइएको थियो । तर, त्यसलाई भने प्रचण्डले स्वीकार गरेनन् ।

‘जनयुद्ध शव्द र बराबरी हैसियतको कुरालाई पार्टी अध्यक्ष प्रचण्डले स्वीकार गरे पनि दुई अध्यक्षात्मक प्रणालीको विषयमा भने सहमति भइसकेकाले अब परिवर्तन गर्नु हुँदैन भन्नु भएको छ,’ वाईसीएल महासचिव सुवोध शेर्पालीले भने ।

यता एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता वैशाख ९ गते नै नहुन सक्ने दाबी गर्दै आएका छन् । विराटनगरमा भएको कार्यक्रममा खनालले बराबरी हैसियतमा पार्टी एकता नहुने बताए ।

पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन शीर्ष नेतालाई बुझाएको थियो ।

मिल्न बाँकी विषय मिलाएर पार्टी एकता टुंग्याउने भनिए पनि विगत एक सातादेखि छलफल समेत हुन सकेको छैन । दुईदलले एमाले नेता माधवकुमार नेपाल र माओवादी नेता रामबहादुर थापाको नेतृत्वमा दुबै पार्टीका नेता सम्मिलित कार्यदल गठन गरेका थिए ।

यस अघि प्रधानमन्त्रीको भारत भ्रमणअघि दुवै दलले एकता घोषणा गर्ने तयारी गरेका थिए । तर अहिले आएर नेताहरुको व्यवस्थापन, चुनाव चिन्ह र जनयुद्धको विषयमा कुरा नमिल्दा एकता लम्बिएको बताइएको छ ।

यद्यपी दुवै दलका शीर्ष नेताहरुले पार्टी एकताको मिति पर सरे पनि एकता भने भएरै छाड्ने दाबी गर्दै आएका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनाव पछि पार्टी एकता गर्ने भनेका दुवै दलहरु केही प्राविधिक विषयमा कुरा मिल्न नसक्दा लम्बिएको देखिन्छ । वैशाख ९ गते भव्य कार्यक्रमका बीच गर्ने भनिएको पार्टी एकताको आवश्यक तयारी खासै भएको देखिँदैन ।

एक एमाले नेताका अनुसार पार्टी एकता प्रतिशतलगयातका विषयमा कुरा मिलेपछि मात्र टुंगो लाग्नेछ । दुई वृहत पार्टी मिल्नुपर्ने भएकाले समस्या देखिएको उनले बताए । काठमाण्डुटुडेसँग कुरा गर्दै उनले भने, ‘पार्टी एकता वैशाख ९ मा पनि हुनसक्छ १८ मा पनि हुन सक्छ, हाम्रो पार्टीको अध्यक्ष अहिले व्यस्त हुनुहुन्छ, प्रचण्डजी र उहाँबीच छलफल हुन पाएको छैन । छलफल भएपछि कुरा मिलीहाल्छ नि केही दिन पर्खनुस् ।’