४ सय केन्द्रीय सदस्य सहित एकताको घोषणा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

४ सय केन्द्रीय सदस्य सहित एकताको घोषणा



केही समय देखि सेलाएको पार्टी एकतामा एकाएक गर्मी छाएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच गोप्य बैठक बसेको र सो बैठकले विवादित विषयलाई टुंग्याएको थियो ।

गोप्य बैठक सकिए लगत्तै दुवै नेताले आआफ्नो उच्चस्तरीय बैठक डाकेर विवादित विषय टुंगिएको बताएका थिए । यो सँगै भोलि बिहीबार बिहान एकता संयोजन समितिको बैठक बस्ने गरी र सबै विषय भोलिको संयोजन बैठकले टुङ्गोमा पुर्‍याउने बताइएको छ ।

माओवादी र एमालेका केही नेताको भनाई अनुसार अब एकताको विषयमा आएका अड्चनहरू समाप्त भएका छन् । पछिल्लो समय फिफ्टी-फिफ्टी, जनयुद्ध, जबज र दोस्रो तहका नेता व्यवस्थापनले अवरोध गरिरहेका थिए ।

माओवादीका एक नेताका अनुसार दुवै पार्टीले कतिपय कुरामा कम्प्रोमाइज गरेर तुरुन्त एकता घोषणा गर्ने सहमति बनेको बताए ।

माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त पार्टीमा ४ सय जना केन्द्रीय सदस्य हुने जनाइएको छ, भने एमाले बाट २५ जना केन्द्रीय सदस्य बढी हुने छन् ।

वैशाख ९ गते लेनिन दिवसको अवसरमा काठमाडौँमा आयोजित दुवै पार्टीको संयुक्त कार्यक्रममा प्रचण्डले ‘ड्याम्मै एकता हुन सक्ने’ बताएका थिए। उनले अब दायाँ-बायाँ गर्ने ठाउँ नभएको बताउँदै भनेका थिए, ‘अब हल्ला भएको दिन होइन, थाहा नभएको दिन ड्याम्मै पार्टी एकता हुन्छ। हेर्दै जानुहोला- तपाईँहरूले थाहा नपाएको दिन पार्टी एकता हुन्छ।’

उस्तै अभिव्यक्ति ओलीको पनि थियो। युवा सङ्घ नेपालको २८ औँ स्थापना दिवसको अवसरमा मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दिन दुई दिनको मिति राखेर पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका थिए। ‘कुनै पनि बेला, हामीलाई धेरै तयारी केही गर्नु छैन। गर्ने भनेपछि गर्ने। हामी दुई वा तीन दिनको समय राखेर पार्टी एकताको मिति घोषणा गर्न सक्छौँ र निकट समयमा घोषणा गर्न सक्छौँ’, उनले भनेका थिए।

बिहीबार बिहान एकता संयोजन समितिको बैठक डाकिएको छ । यही बैठकले सबै कुरा टुंग्याएर भोलिनै एकता हुन पनि सक्छ, भोलि नभएको खण्डमा ६ गते घोषणा हुने तयारी छ हिमालपोष्ट सँगको कुराकानीमा माओवादीका एक उपल्लो तहका नेताले भने ।