बराबरीको कुरा मिल्यो भने पार्टी एकता हुन्छ: प्रचण्ड - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बराबरीको कुरा मिल्यो भने पार्टी एकता हुन्छ: प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा एमालेबीच पार्टी एकता गर्ने समझदारी भएको बताएका छन् ।

प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए ।
‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि एकताको कुरा टुङ्गाएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं ।’

कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको उल्लेख रहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने ‘अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।’

नव आगन्तुकलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह पनि गरे ।
रासस