एमाले–माओवादी पार्टी एकीकरण अनिश्चित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एमाले–माओवादी पार्टी एकीकरण अनिश्चित



नेपालको कम्युनिस्ट इतिहासमा सबैभन्दा चर्चित र महत्त्वपूर्ण मानिएको दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण प्रक्रिया अझै लम्मिने छाँट देखिएको छ । एमाले नेतृत्वको सरकार बन्नुअघि नै पार्टी एकीकरण गर्ने घोषणा भए पनि सरकार बनेको करिब दुई महिना बितिसक्ता पनि प्रक्रिया सुरु भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जानुअघि नै पार्टी एकीकरण भइसक्ने घोषणा पनि गरियो । तर, त्यसबीचमा पनि हुन सकेन । अब वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा यी दुई पार्टीको एकीकरण हुने घोषणा भए पनि माओवादी नेताहरू अझैसम्म यस विषयमा ढुक्क हुन सकेका छैनन् । यस विषयलाई नागरिकले आज मुख्य समाचार बनाएको छ ।

नागरिक दैनिकमा मणि दाहाल लेख्छन् – एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । ओलीको एकलौटी निर्णय गर्ने तरिकाले गर्दा माओवादी नेताहरू अहिल्यै पार्टी एकीकरण गरेर पछि पछुताउनु भन्दा केही समय पर्खेर हेर्ने मनःस्थितिमा पुगेका छन् । नागरिक दैनिकले एक माओवादी नेतालाई उद्धृत गर्दै लेखेको छ – ‘एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएको छ त्यसले हाम्रा नेताहरूलाई झस्काएको छ । त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ ।’

अहिल्यै पार्टी एकीकरण गरेर निष्कर्षमा पुग्नुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले अपनाएको देखिएको छ । तर, अहिलेसम्म पार्टी एकताबाट आफूहरू पछि हट्ने संकेत भने माओवादी नेताले दिएका छैनन् । तथापि तत्काल एकता गरेको खण्डमा आफूहरूको अवस्था कमजोर हुने आकलन गरेका माओवादीका नेताले पार्टी एकताको विषयलाई अझ पर धकेल्ने मनसाय देखाएका छन् ।

पार्टी एकता भएपछि पार्टी विघटन हुने संभावना निकै कम भएको कारणले पनि माओवादी नेताहरू पहिले आफ्नो भविष्यप्रति आश्वस्त हुन चाहेको देखिएको छ । राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्थाले नयाँ दलको मान्यता पाउन पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैतर्फ कम्तीमा ४० प्रतिशत संख्या पु¥याउनुपर्ने भएकोले पनि एकीकरण पश्चात निर्णय उल्टिने संभावना निकै कम भएको ठानेर माओवादी नेतामा एकीकरणको विषयमा अन्योल देखिएको हो ।