जहाँ एकगाग्री पानी लिन दैनिक चारघण्टा हिड्नुपर्छ - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

जहाँ एकगाग्री पानी लिन दैनिक चारघण्टा हिड्नुपर्छ



रामपुर, पाल्पा

दुनियाका धेरै देशहरुले तिब्र बिकाश गरिरहंदा हामि नेपाली भने एक गाग्रो पानीको लागि ४ घण्टा धाउनुपर्ने कहानी पढ्न बाध्य छौं । यो कहानी पाल्पाको रामपुर नगरपालिका, मनाभागा भन्ने ठाउँको हो ।

रामपुर नगरपालिका–१० मनभागा क्षेत्रका स्थानीयवासीलाई एक गाग्री पानी लिन अहिले पनि दैनिक चार घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ ।

यहाँका स्थानियवासीले वर्षौंदेखि यो समस्या भोग्दै आएपनि समस्याले भने अझसम्म पार पाउन सकेको छैन ।

गाउँदेखि तल रहेको किर्लोखोलाबाट गाग्रीमा पानी बोकेर माथि गाउँमा लैजान निकै समस्या छ । उनीहरुलाई पिउने पानीमात्र होइन लुगा धुने, नुहाउने, गाईभैँसीलाई खुवाउने पानीका लागि पनि किर्लोखोलामै धाउनुपर्छ ।

गाउँ नजिकै पानीको मुहान नहुँदा स्थानीयवासीले पानीका लागि निकै कष्टकर जीवन बिताउँदै आएका छन् । झण्डै ५० घरधुरी रहेको मनभागा क्षेत्रमा मगर समुदायको बढी बाहुल्य रहेको छ ।

पानी बोकेर रातदिन जीवन गुजारा गर्न निकै समस्या परेको स्थानीयवासी अमिता सिंजाली बताउनुहुन्छ । “एक गाग्री पानी लिएर घर आउँदा बिहानको समय बित्छ, अन्यत्र काम गर्नै भ्याइँदैन”, उहाँले भन्नुभयो ।

पिउनका लागि मात्र नभई अन्य प्रयोजनका लागि पनि एक गाग्री पानी लिन चार घण्टा बिताउनुपर्छ, यसले गर्दा छोराछोरीको स्याहार सुसार तथा गाईभैँसीको रेखदेख गर्न निकै समस्या परिरहेको उहाँले गुनासो गर्नुभयो ।

किर्लोखोलाको पानी लिफ्टिङ गरेर माथि गाउँमा लगेमात्र यहाँ पानीको समस्या समाधान हुनेछ । गाउँवासीबाट नगरवासी भएका यहाँका स्थानीयवासीलाई गाउँका अन्य समस्या त छँदैछन् तर पनि खानेपानीको समस्या सबैभन्दा ठूलो बनेको छ।
गाउँमा पुग्ने नेता, कार्यकर्तालगायतका विभिन्न व्यक्तिसँग खानेपानीको समस्या समाधानका लागि हात जोडेको वर्षौं भयो तर पनि समस्याले अहिलेसम्म निकास पाउन नसकेको स्थानीयवासी हेमबहादुर सिंजालीले बताउनुभयो ।
“निर्वाचनका बेला गाउँमा आएका विभिन्न दलका नेता कार्यकर्ताले खानेपानी ल्याइदिन्छौँ, भोट देऊ, भन्न अहिलेसम्म छाडेका छैनन्, निर्वाचन सकिएपछि गाउँ फर्कंदैनन्”, “सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेका छन्, गाउँकै व्यक्तिलाई स्थानीय निकायमा नेतृत्वका लागि चयन गरेका छौँ, अब भने नगरपालिकाले केही गर्छ कि भन्ने मनमा आशा पलाएको छ”, सिंजालीले भन्नुभयो ।

गाउँमा वर्षौंदेखि चार घण्टा लगाएर पानी बोकेर जीवन गुजारा गरिरहेका केही स्थानीयवासी भने अब पनि खानेपानीका लागि कुनै विकल्पको व्यवस्था नभए गाउँ नै छाड्ने मनसायमा रहेका छन् ।
पहिले गाविस थियो, बजेट कम आउँथ्यो, कनिका छरेजस्तो बजेट गाउँका साना–साना बाटोलगायतका अन्यत्र क्षेत्रमा खर्च गर्दै ठिक्क हुन्थ्यो । अब संरचना फेरिएकाले नगरपालिकाले विशेष चासो र महत्व दिन स्थानीयवासी अनुरोध गर्छन्
खानेपानीका लागि सानो रकमले नपुग्ने, ठूलो रकम कहीँ कतैबाट पनि जुट्न नसक्दा खानेपानीको समस्याले निकास पाउन नसकिरहेको स्थानीयवासी राजु थापाको भनाइ छ । “लिफ्टिङ प्रणालीबाट मात्र गाउँमा खानेपानी पु¥याउन सकिने एकमात्र विकल्प रहेको छ”, उहाँले भन्नुभयो ।

स्कुले विद्यार्थी, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति पानीकै कारण समयमा आफ्नो गन्तव्यमा पुग्न नसकिरहेको थापाको भनाइ छ । खानेपानीको समस्या सुल्झाउन सके बसाइँ सराइ कम हुने थियो, गाउँको जग्गा पनि सदुपयोग हुनेथियो, उहाँ बताउनुहुन्छ ।

कृषिका लागि निकै उर्वरशील जग्गा छन् तर सिँचाइ नहुँदा त्यसै खेर गइरहेका छन् । सिँचाइको सुविधा पुगेको खण्डमा प्रशस्त मात्रामा कृषि उत्पादन बढाउन सकिने सम्भावना छ । यहाँ तरकारी, फलफूल, पशुपालन, मौरीपालनका लागि राम्रो सम्भावना पनि छ ।