मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस्: दुर्गेश थापा - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस्: दुर्गेश थापा



काठमाडौं- गायक तथा मोडल दुर्गेश थापाले आफूमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गरेको बहिष्कारलाई अनधिकृत भनेका छन् ।

उनले सार्थकता बुझ्ने प्रयास गरिरहेको हर मानवमा एउटा मात्र लक्ष्य हुने र कलात्मक जीवन बाँच्न खुसी सँगालेकाहरूमाथि प्रतिष्ठानले अवरोध पुर्‍याएको उनले तर्क प्रस्तुत गरेका छन्।

फेसबुक उनले ‘बाचौं खुसी सँगालेर, बाँचौ आफ्नाहरूको मायामा पुलकित भएर’ भन्दै लामो स्टाटस लेखेका छन्। प्रेमिल जीवन बाच्न पाउनुपर्ने भन्दै उनले मानव नै मानव को रक्षक र भक्षक दुवै भएको उल्लेख गरेका छन्।

दुर्गेशले केही दिनअघि ‘आपत्तिजनक शब्द’ राखिएको गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेश र उनको गीतप्रति बहिष्कारको निर्णय गरेको बताएको थियो। प्रतिष्ठानको यही निर्णयलाई लिएर थापाले लगत्तै आफूलाई यसले केही फरक नपार्ने प्रतिक्रिया दिएका थिए।

तर आज थापाले प्रतिष्ठान र उसले गरेको निर्णयप्रति खरो उत्तर दिएका छन्।

उनले आफ्नो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस् र आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश नलगाउन आग्रह पनि गरेका छन्। साथै उनले विगतमा दोहोरी र लोक भाकामा बनेका केही गीतहरूलाई ‘छाडा’ को संज्ञा दिँदै सुन्नै नसकिने गीतहरू बनेकोतर्फ पनि ध्यानाकर्षण गराएका छन्।

‘मेरो गीत न लोक न दोहोरी, तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लील परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ जुन दुःखद् छ’, उनले लेखेका छन्,’परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठैबाहेक केही भन्न सकिन्नँ, प्रतिष्ठानका सभ्य र संस्कारी ४१००० सदस्यहरूको जीवन हजार वर्षको होस् शुभकामना।’

थापाले पुराना सर्जकहरूको गीतको शब्द नै लेख्दै उनले गायक बद्री पंगेनी, प्रजापति पराजुली, कोमल वली तथा कुमार बस्नेतप्रति कटाक्ष गरेका छन्।