स्वास्थ्य : उकालो चढ्दैछ प्राणघातक डेङ्गे (Dengue) - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

स्वास्थ्य : उकालो चढ्दैछ प्राणघातक डेङ्गे (Dengue)



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

केही वर्षअघिसम्म भारतमा महामारीको रूप लिने गरेको डेङ्गे रोग अहिले नेपालका लागि पनि समस्या बनेको छ। अहिले धरान तथा आसपासका सहर जस्तै बिराटनगर, इटहरी लगायत क्षेत्रमा डेङ्गेको प्रकोप फैलिएको छ। अहिलेसम्म ५ सय ४० जना व्यक्तिमा यो रोगको पहिचान भइसकेको छ भने पहिचान नभएका सयौँको संख्यामा हुनसक्छन् । निर्माण सामग्री तथा अन्य बस्तुहरू तराई हुँदै पहाडी बस्तीमा ल्याउने तथा तराई र पहाडमा कामको लागि मान्छेको ओहोरदोहोर हुँदा डेङ्गे, मलेरिया, कालाजार जस्ता रोगहरू अब तराईमा मात्र सीमित छैनन् ।  पहाडका घनाबस्ती तथा काठमाडौँमा यी रोगहरूको प्रकोप नहोस् भनेर चेतना फैलाउनु जरुरी छ ।

के हो त यो रोग ? यसका लक्षण, असर र उपचार विधि के हुन् त ? 

डेङ्गे रोग भाइरसको समूहको कारणले हुन्छ। यो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो तीव्र सङ्क्रमण हो, जसमा टाउको दुख्‍ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नीहरूमा धेरै दुख्‍ने, ग्रन्थिहरू सुन्निने र शरीरमा बिमिराहरू निस्कनेजस्ता लक्षण देखिन्छन्। ज्वरो, बिमिरा र टाउको (साथै शरीर) दुख्‍ने यी तीन लक्षणलाई डेङ्गेको त्रिभुज मानिन्छ। यसबाहेक डेङ्गे ज्वरोमा गिजाबाट रगत आउने, आँखापछाडि असह्य पीडा हुने तथा हत्केला र पैताला राता हुन्छन्। यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई सजिलै लाग्न सक्छ। यो चार प्रकारका भाइरसका प्रजातिमध्ये दुई वा सोभन्दा बढीको सङ्क्रमणबाट लाग्छ। जसमध्ये कतिपय व्यक्तिलाई एकपटक डेङ्गे ज्वरो आएपछि शरीरमा प्रतिरोधी क्षमताको विकास भएर पुनः नदोहोरिन सक्छ। यो रोगमा मांसपेशी तथा हड्डीमा निकै पीडा हुने भएकाले यसलाई ‘ब्रेकबोन’ ज्वरो पनि भनिन्छ।

डेङ्गे रक्तस्राव-जन्य ज्वरो निकै गम्भीर अवस्था हो। टाउको दुख्‍ने, ज्वरो आउने, बिमिरा तथा रक्तस्रावका लक्षणहरू यसमा देखिन्छन्। छालामुनि साना राता चायाँ पलाउँछ, नाक, गिजा तथा दिसाबाट रगत आउँछ र रगत वान्तासमेत हुन्छ। यस्तो अवस्था खतरनाक हुन्छ। मृत्युको खतरा पनि हुन्छ। डेङ्गे भाइरसबाट सङ्क्रमित व्यक्तिलाई एडीस एजिप्टी नामक लामखुट्टेले टोकेपछि लामखुट्टेमा डेङ्गे भाइरस सर्छ। त्यसपछि उक्त सङ्क्रमित लामखुट्टेले मान्छेलाई टोकेमा डेङ्गे ज्वरो सर्छ। यो रोग सरुवा रोग होइन अर्थात् मान्छेबाट मान्छेमा यो रोग सर्दैन। यो रोग सर्नका लागि सङ्क्रमित व्यक्ति-लामखुट्टे-स्वस्थ व्यक्तिको तीन चरण पार हुनुपर्छ। लामखुट्टे विशेषगरी गर्मी तथा बर्षा ऋतुमा फैलिन्छ। तर, पानीले भरिएका भाँडा, प्लास्टिकका झोला, रित्ता बोतल, क्यान, टायर, ट्युब, पाइप, गमला, रूखको खोक्रो भाग, घरवरिपरिको आद्र भाग आदिमा वर्षभरि रहन सक्छ लामखुट्टे। सङ्क्रमित एउटै लामखुट्टेको टोकाइ पनि यो रोग सार्न पर्याप्त हुन्छ। यो मौसम लामखुट्टे हुर्कने उपयुक्त वातावरण भएकाले पनि यस रोगको प्रकोप हाल देखिएको हो।

लामखुट्टेले टोकेपछि तीनदेखि आठ दिनभित्र डेङ्गेको लक्षण देखा पर्छन्। यो रोगमा सुरुमा जाडो हुने, टाउको दुख्‍ने, आँखा घुमाउँदा दुख्‍ने, ढाड दुख्‍ने तथा खुट्टा र जोर्नीमा दुख्छ। शरीरको तापक्रम एकाएक बढेर १ सय ४ डिग्रीसम्म पुग्छ तर हृदयको गति, नाडीको गति र रक्तचाप कम हुन्छ। आँखाहरू राता हुन्छन्। अनुहारमा साना डाबरहरू आउँछन् र स्वतः हराउँछन्। घाँटी र काखीमा ग्रन्थिहरू सुनिन्छन्। छाती र काँधबाट सुरु भएका बिमिराहरू हातखुट्टा तथा सम्पूर्ण शरीरमा फैलिन्छन्। तर, अनुहारमा फैलिँदैनन्। हत्केला तथा पैताला राता र सुन्निएका हुन्छन्। साधारण खालको डेङ्गेको मृत्युदर निकै कम (करिब १ देखि ३ प्रतिशत) हुन्छ। तीव्र अवस्थाको ज्वरो र दुखाइ १ देखि २ सातासम्म रहन सक्छ। कमजोरीको कारण पूरा निको महसुस गर्न केही साता लाग्न सक्छ। रक्तस्राव-जन्य डेङ्गे ज्वरो बढी मात्रामा १० वर्षमुनिका बच्चाहरूलाई लाग्छ। पेट दुख्‍ने, रक्तस्राव हुने, रक्तसञ्चार अवरुद्ध हुने, स्वर बस्ने, खोकी लाग्ने, वान्ता हुने र केही दिनपछि बेहोस हुनेसम्म हुन्छ। साथै, निमोनिया एवम् मुटु सुन्निनेसमेत हुनसक्छ।

गम्भीर प्रकारको डेङ्गे रोगको मृत्युदर ६ देखि ३० प्रतिशतसम्म पाइएको छ। एक वर्षमुनिका बच्चामा मृत्युदर तीव्र र बढी हुन्छ। डेङ्गे ज्वरो उच्च र समशितोष्ण प्रदेशमा हुने रोग भए तापनि भ्रमण र सामानको ओसार-पसारका कारण जुनसुकै क्षेत्रमा पनि फैलिन सक्छ। बढ्दो सहरीकरण, औद्योगीकरण र अव्यवस्थित पानी तथा ढल व्यवस्थापन पनि यो रोगका लागि कारक तत्त्व बनेका छन्। नेपालको १ हजार ८ सय किमी सीमाना भारतसँग जोडिएका कारण पनि नेपाल डेङ्गे सङ्क्रमणबाट मुक्त रहन सक्दैन।

कारण :

डेङ्गे ज्वरो डेन-१, डेन-२, डेन-३ र डेन-४ नामका चार प्रकारका डेङ्गे भाइरसको समूहबाट हुन्छ, जुन एडेस एजिप्टी र एडेस अल्बोपिटस नामका पोथी लामखुट्टेबाट मानिसमा सर्छ।

लक्षणहरू :

डेङ्गे ज्वरो एक्कासि जाडोसहित ठूलो ज्वरो (१०३-१०५ डिग्री फरेनहाइट) आउने। टाउको धेरै दुख्‍ने। मांसपेशी र जोर्नी निकै दुख्‍ने। छालामा बिमिराहरू आउने (छाती र काँधबाट हातखुट्टामा फैलिने)। २४ घन्टाभित्र आँखाको गेडीपछाडि दुख्‍ने (आँखा चलाउँदा र प्रकाशमा हेर्दा बढी मात्रामा दुख्‍ने) । निकै कमजोर महसुस हुने। खानामा अरुचि, स्वादमा विविधता। कब्जियत। पेट तथा जाँघ दुख्‍ने। घाँटी बस्ने, ग्रन्थिहरू सुन्निने। स्वेत रक्तकणको मात्रा घट्ने।

डेङ्गे रक्तस्राव-जन्य ज्वरो : एक्कासि १०४-१०५ डिग्रीसम्म लगातार २ देखि ७ दिनसम्म रहने, टाउको दुख्‍ने, अनुहार रातो हुने, अरुचि, वान्ता, पेट दुख्‍ने तथा बर्बराउने हुन्छ।

रक्तस्राव :  छालामुनि रगतका चायाँहरू देखिने, नाक, गिजा, दिसा तथा वान्तामा रगत देखिने, कलेजो सुन्निने, एक्कासि ज्वरो घटेर शरीर चिसो हुने, नाडी-हृदयगति तथा रक्तचाप न्यून हुने र पछि गएर बेहोस हुने। उक्त अवस्थामा रक्तचाप र नाडीको गति नाप्‍न सकिँदैन। यो ज्वरोले कलेजो र रक्तनलीलाई आघात पार्छ।

डेङ्गे सक सिन्ड्रम : माथिका लक्षणका साथै बेहोस हुने, तीव्र र कमजोर नाडी हुने, नाडीको चाप साँघुरो हुने, रक्तचाप निकै कम हुने, चिसो र आद्र छाला हुने, छटपटी लाग्ने आदि।

 निदान :

रक्तपरीक्षणमा प्लेटलेटको सङ्ख्या घटिरहनु तथा रक्तकणहरू सामान्यभन्दा २० प्रतिशतले बढ्छन् ।

डेङ्गेविरुद्ध प्रभावकारी खोप आइसकेको छैन।  यस्तै डेङ्गे ज्वरो भाइरल सङ्क्रमण भएकाले यसको ठोस उपचार पनि छैन। ज्वरो आदिको लाक्षणिक उपचार, आराम तथा प्रशस्त मात्रामा झोल पदार्थको सेवन एवम् अस्पतालमा भर्ना भएर नसामार्फत सलाइनहरू दिने गरिन्छ। डेङ्गे ज्वरोको रोकथामका लागि झुलको प्रयोग सजिलो उपाय हो। यो रोगबाट बच्न लामखुट्टेको नियन्त्रण गर्नुपर्छ। घरवरपर जमेको पानी, आद्र, फोहोर, टिन, बोतल, बालटिन, फूलबारीको गमलाको पानी, माटाका भाँडा, टायर, पाइप, खाल्टाखुल्टी, पानीको ड्रम आदि यो लामखुट्टेको आश्रयस्थल भएकाले यी सामग्री तथा स्थानको उचित व्यवस्थापन गर्नुपर्छ। पानी जम्ने अन्य ठाउँलाई पनि बन्द गर्नुपर्छ। घरभित्र, बाहिर तथा टोलमा मालाथिन, डीडीटीजस्ता कीटनाशक औषधि छर्नुपर्छ। व्यक्तिगत सुरक्षाका लागि लामखुट्टे धपाउने ‘बडीस्प्रे’को प्रयोग गर्ने तथा सकभर शरीरलाई छोप्‍ने खालका लामबाहुले कपडाहरू लगाउनुपर्छ। सम्भव भएसम्म सूर्योदयको दुई घन्टासम्म र सूर्यास्तपछि घरभित्रै बस्नु सुरक्षित हुन्छ। डेङ्गेको लामखुट्टे दिउँसो टोक्ने लामखुट्टे हो। यसले टोक्ने समय सूर्योदय र सूर्यास्तको आसपासमा बढी हुन्छ।

धमिलो पानीमा माछा मार्ने अमानवीय प्रवृत्ति डेङ्गेको खोपमा पनि देखिएको छ । २ हजार पनि नपर्ने निदान किटलाई १४ हजारसम्म असुलेका समाचार आउनु बिडम्बनाको बिषय हो । सुलभ नभइसकेको खोप समेत बीसौँ हजार असुलेर डिस्टिल पानीको सुई लगाएका समाचार पढ्नु नपरोस्।