डा. उपेन्द्र देवकोटालाई डा. रवीन्द्र पाण्डेको पत्र ! - Himal Post Himal Post
  • ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

डा. उपेन्द्र देवकोटालाई डा. रवीन्द्र पाण्डेको पत्र !



डा. उपेन्द्र देवकोटालाई पत्र

श्रद्धेय डाक्टरसाहेब,
असीम श्रद्धा !
अचानक तपाईँ उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौँ । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईँलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भव नभएकोले बेलायत गएको आदि … ।

त्यसको केही समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जाँचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा विज्ञानको विद्यार्थीको नाताले मलाइ त्यति बेला लागेको थियो – तपाईँलाई पक्कै पनि नेपालमा उपचार सम्भव नभएको रोग लागेको छ र त्यो रोग प्राणघातक क्यान्सर नै हो । मैले बुझ्छु, हामी चिकित्सकलाई बिरामी छु भन्ने छुट छैन । बिरामी छु भन्नेबित्तिकै हाम्रो पेसा, पेशागत संस्था, हामीले हेरिरहेका बिरामी, मेडिया तथा आम जनतामा हाम्रो हैसियत ( ? ) उजागर हुन्छ ।

यति लामो समय बेलायतमा बस्दा मलाइ लागेको थियो, तपाईँ सर्जरी / केमो आदिको चक्रव्यूहमा हुनहुन्छ र त्यो कर्कटलाई जितेर मिठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिवादन गर्दै आउनुहुनेछ । तर, विधिको विडम्बना, विमानस्थलबाट तपाईँ एम्बुलेन्समा सुतेर अस्पताल जानुपर्यो । तपाईँ अन्तिम सत्य बोल्न बाध्य हुनुभयो, हामी निरीह भएर सुन्न विवश भयौँ ।

डा. उपेन्द्र देवकोटा नेपालको मात्र नभएर एसियाकै, अझ भन्ने हो भने विश्वकै अमूल्य गहना हो, न्युरो सर्जरीमा चम्किलो तारा हो । उ डाक्टर मात्र हैन, समाजको गहिरो अन्वेषक पनि हो, राजनीतिको गहिराइमा डुबेको व्हेल माछा पनि हो । उ स्पष्ट वक्ता हो, आफ्नो मर्जीको मालिक हो, स्वाभिमान र गर्वको शिखर हो । शायद घमण्डी पनि हो । आजीवन राजनीति गर्नेहरु नपुगेको टाकुरामा पुगेको खेलाडी पनि हो । नेसनल ट्रमा सेन्टर, चिकित्सा विज्ञान प्रतिष्ठान, न्युरो अस्पताल लगायत उपलब्धिको जननी पनि हो । उ स्वतन्त्र पंक्षी हो, त्यसैले सुनको पिँजडामा नअटाएको तालचरा हो । उ हामी सबैको अनुकरण एवम् ईर्ष्याको पात्र पनि हो ।

हामी सबै मृत्युको गन्तव्य बोकेर जन्मिएका हुन्छौँ । हरेक पलपलमा मृत्युलाई जित्दै, नाघ्दै, अस्वीकार गर्दै, अटेर गर्दै ..हामीहरू उसैको गन्तव्यतिर दौडिरहेका हुन्छौँ । जन्मेपछि मान्छेमात्र हैन हरेक प्राणी, बस्तु तथा सृष्टिको अन्त्य हुन्छ । जीवन निमेषमा चलेको हुन्छ भने मृत्यु असीमित आयु र अनन्त दायरामा बाँचेको हुन्छ । हाम्रो त के कुरा ? भगवान् राम, कृष्ण, अल्लाह, येशु लगायत देवता समेत मृतुन्जयी बन्न सकेनन् । मृत्यु अनपेक्षित, चामत्कारिक एवम् सर्वाधिक पीडादायी सत्य हो । दुर्घटनामा परेर, हृदयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट पनि तपाईँको मृत्यु हुनसक्थ्यो । त्यसो भएको भए तपाईँलाई आफूले मृत्युबरण गर्दै गरेको वा गरेको समेत थाहा हुने थिएन । अहिले कमसेकम आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन, व्यवहार मिलाउन नपाएको पारिवारिक पीडा छैन… ठुलो कुरा त चमत्कारको आशा छ । यो संसारमा लाखौँ यस्ता रोगहरू छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौँ उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

आशा अझै बाँकी छ ! सम्भावनाको दियो निभेको छैन ।

श्रद्धेय डाक्टरसाहेब । आफूलाई म मर्दै छु भन्ने कहियै नसोंच्नुहोला । हामी जो कोही पनि मर्दै छौँ । आफूले सम्पूर्ण जीवन छोंटो समयमै भोगेकोमा गर्व गर्नुहोला । सफल, असल, सुरुचिपूर्ण र सार्थक जीवन बाँचेको मान्छेको लागि आँसु उपयुक्त विम्ब होइन । तपाईँ ६३ वर्षको उमेरमा पनि सय वर्षको अनुभव लिन सक्नुभयो, सय वर्षको योगदान दिन सक्नुभयो – यो नै तपाईँको दीर्घायु हो । तपाईँ यस्तो उचाइमा पुगेको व्यक्ति हो जसको लागि ओर्लनुको विकल्प थिएन । तर तपाईँलाई विकल्पको स्वर्ण अवसर प्राप्त भयो । अनिच्छापूर्वक विश्रामको बाध्यतामा पर्नु जस्तो ठुलो उपलब्धि केही हुँदैन ।

यहाँ स्वयम् गहन अध्येता पनि हो तसर्थ मैले स्टेफेन हकिंगदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन । दुईबर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले अन्तर्मनको यात्रा नलेखेको भए एकबर्ष पनि उनको लागि टाढाको कुरा हुन्थ्यो, आत्मबल र गन्तव्यको क्रेजले उनी ८ वर्ष सक्रिय जीवन बाँचे । त्यति मात्र हैन, जमराको रस तथा खुर्पानिको बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्तिहरू हाम्रो समाजमा छन् । स्वमुत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्रि गणेश शाह लगायत व्यक्तिहरू हाम्रो समाजमा अझै सक्रिय छन् ।

तसर्थ एक रति पनि हार नखानुहोला । आफूले गरेको सङ्घर्ष, देखेको संसार, भोगेका पल एवम् त्यो अद्भुत क्षमताको रहस्यलाई जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा बाँचिरहने उपयुक्त अवसर प्राप्त भएको छ, यहाँलाई । गन्तव्यको सीमा भएको अवस्थामा लेखाइभन्दा ठुलो थेरापी अरू केही हुँदैन ।
३० वर्षको अल्पायुमा निधन भएका मोतीराम भट्ट, ४३ वर्षको अल्पायुमा निधन भएका भैरव अर्याल, ४२ वर्षमा निधन भएका मदन भण्डारी वा कलिलो उमेरमा क्यान्सर भएर पनि राजनीति तथा साहित्यमा क्यान्सरको छायाँ पर्न नदिएका बिपी कोइराला …उहाँहरू जीवितै हुनुहुन्छ त !

तपाईँ अस्पतालमा बसेर ‘ कठै ‘ को पात्र बन्नुहुँदैन । आफ्ना र अरूका आँसुको द्रष्टा तथा भोक्ता बन्नुहुँदैन । यो कार्यले आत्मबलको घोडालाई लगाम लगाउँछ । तपाईँ आफ्नो जन्मस्थान जानुहोस, एक पटक रारा ताल पुग्नुहोस, सगरमाथाको बेसक्याम्प पुग्नुहोस अनि यो स्वर्गको कुनै टुक्रामा बसेर आत्मकथा लेख्नुहोस । आधुनिक विज्ञानले दिएको एक्सपायर डेटलाई खारेज गरेर यस्ता साधकको भर पर्नुहोस जसले संजीवनीबुटी, हिमाली जल, प्राणी उत्पादन आदि प्रकृतिको प्रयोग गरेर कहिल्यै नमर्ने महर्षी बनाउन सकुन । त्यो सम्भव छ ।

कुनै पनि कुरा बिकल्पबिहिन हुँदैन भने विकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई सारौँको पित्तले पो निर्मुल गर्छ कि ? प्रकृतिलाई बचाइरहेको हिमाली जडीबुटीले तपाईँलाई नबचाउनुको कुनै कारण छैन । यो भूमि पातपातमा अमृत रस भएको भूमि हो अनि तन्त्र, मन्त्र, पूजा, तीर्थाटन, भजनजस्ता अनेकौँ दैवी चमत्कार भएको भूमि हो । योग र ध्यानले आफ्नो समाधि तय गर्ने ऋषि जन्मेको यो पवित्र भूमिमा उपचारको कुनै कमी छैन, कमी छ त हाम्रो विश्वासको । तसर्थ प्रयत्नले छोड्नुअघिं हामीले प्रयत्नलाई छोड्नुहुँदैन ।

अहिले तपाईँ साँच्चै सर्वाहारा हुनुभएकोछ । जित्नलाई संसार छ, हार्नलाई केही छैन । तपाईँको साथमा हामी करोडौं जनता छौँ । हामीहरू तपाईँको दीर्घजीवनको लागि मुटुभित्र दीप बालेर प्रार्थना गरिरहेका छौँ । डा. देवकोटा ! उठ्नुहोस् , हिड्नुहोस् अनि विज्ञानभन्दा पर रहेको ज्ञानमा आफूलाई समर्पित गर्नुहोस् । जहाँ विश्वासले धोका दिन्छ त्यहाँ अन्धविश्वासले साथ दिन्छ । प्रेमको उत्कर्ष अन्धोप्रेम भए झैँ विश्वासको उत्कर्ष अन्धविश्वास हो ।

तपाईँलाई आफ्नो आयुको २० वर्ष उमेर दिन तयार प्रशंशक
रवीन्द्र समीर
लेखक / जनस्वास्थ्य विज्ञ