डा.केसीलाई डा.देवकोटाले भने :तपाईंले रोजेको बाटो कठिन छ, तर नछाड्नुहोला - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

डा.केसीलाई डा.देवकोटाले भने :तपाईंले रोजेको बाटो कठिन छ, तर नछाड्नुहोला



काठमाडौं- पित्तनलीको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका न्यूरो सर्जन डा उपेन्द्र देवकोटालाई चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले भेटेका छन्। सोमबार दिउँसो डा केसीले न्यूरो अस्पताल पुगेर डा देवकोटालाई भेटेका हुन्।

डा देवकोटालाई भेट्न डा केसीसँग डा वाइपी सिंह र अभिषेकराज सिंह पनि गएका थिए। उनीहरु तीनै जनासँग डा देवकोटाले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा लामो छलफल गरेका थिए

छलफलका क्रममा डा देवकोटाले डा केसीको माग अनुसार नै सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको र उक्त आयोगको सदस्यका रुपमा आफूले काम गर्न पाएको बताएका थिए।

डा देवकोटाले आयोगले चिकित्सा शिक्षाका क्षेत्रमा भएका विकृति र अनियमितताका विषयमा निकै मिहिनेत गरेर छानबिन गरेर प्रतिवेदन तयार पारेको र त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएको भेटमा सहभागी डा सिंहले जानकारी दिए।

‘डा देवकोटाले इतिहासले आयोगको सदस्यका रुपमा आफूलाई काम गर्ने मौका दिएकाले धेरै मिहिनेतका साथ काम गरेको बताउनुभयो’, डा सिंहले भने, ‘उहाँले गुणस्तरीय स्वास्थ्य सेवाका लागि डा केसीले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभएको छ।’

छलफलका क्रममा डा देवकोटाले डा केसीसहितको टोलीले चिकित्सा शिक्षा सुधारका लागि रोजेको बाटो कठिन भएको र यसमा थुप्रै अवरोध आउनसक्ने पनि बताएको डा सिंहले जानकारी दिए।

‘चिकित्सा शिक्षा सुधारका लागि डाक्टरसाबहरुले रोजेको बाटो एकदमै कठिन छ, तर सुधारका लागि कसै न कसैले हिँड्नैपर्छ, तसर्थ डाक्टर साबहरुले नछाड्नुहोला’, डा देवकोटाको भनाइ उद्धृत गर्दै डा सिंहले भने।स्वाथ्यखबरबाट