डा. केसीको १७औं सत्याग्रह, सात बुँदे माग, के होला अब ? - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

डा. केसीको १७औं सत्याग्रह, सात बुँदे माग, के होला अब ?



काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै लामो समयदेखि आन्दोलनरत चिकित्सा शिक्षा सुधारक अभियन्ता डा. गोविन्द केसीले डडेल्धुराबाट १७औं सत्याग्रह सुरू गरेका छन्।

चिकित्सा शिक्षा ऐन संशोधनसहित विभिन्न सात बुँदे माग राख्दै उनले आज झाँझ ५ बजेबाट सत्याग्रह सुरू गरेका हुन् ।

केसीले डडेल्धुरा सदरमुकाम अमरगढी अस्पताल रोडस्थित एउटा निजी क्लिनिक रहेको घरमा सत्याग्रह घोषणा गरेका छन् । उनले पत्रकार सम्‍मेलन गर्दै सत्याग्रहको घोषणा गरेका हुन् ।

सरकार भ्रष्ट र ‘माफियामुखी’ बनेको र आफूले चिकित्सा क्षेत्रका बिकृति सुधारका लागि दिएको समय सकिएकाले अनसन बस्नु परेको बताएका छन् ।

पटकपटक चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका केसीका माग सम्बोधनमा सरकार कत्तिको गम्भीर बन्छ, त्यो भने हेर्न बाँकी छ ।

यस्ता छन् डा. केसीका सात बुँदे माग

१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस ।

२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् । ५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर MBBS कार्यक्रम संचालन गरियोस। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा MDGP कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृती दिँदै शीघ्र MBBS कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस् । प्रदेश नं दुई र चार तथा डोटी/डडेल्धुरा, उदयपुर र इलाम/पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।