रात्रिभोज गराएर डा. भट्टराईले सुरक्षाकर्मीहरु विदा गरे - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

रात्रिभोज गराएर डा. भट्टराईले सुरक्षाकर्मीहरु विदा गरे



नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो सुरक्षामा रहेका सुरक्षाकर्मीहरुलाई विहीबारदेखि औपचारिक रुपमा फिर्ता गरेका छन्।

डा भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा उपलब्ध गराएको थियो।

केही दिनअघिमात्र भट्टराईले आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने सार्वजनिक घोषणा गरेका थिए।

शान्ति प्रक्रियामा आएदेखि नै भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टुकडीले सुरक्षा दिँदै आएको थियो।

नेपाल प्रहरीबाट निरीक्षक चन्द्र केसीको नेतृत्वमा १० र सशस्त्र प्रहरीका निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा १९ जना गरी २९ जना भट्टराईको सुरक्षामा थिए।

उनीहरुलाई धन्यवादसहित औपचारिक रुपमा विदाई गर्न भट्टराईले विशालनगरस्थित निवासमा विहीबार अपरान्ह औपचारिक कार्यक्रम आयोजना गरे।

विदाई कार्यक्रममा ०६३ देखि भट्टराईको सुरक्षामा खटिएर अन्यत्र सरुवा भइसकेका सुरक्षाकर्मीहरुलाई पनि निम्त्याइएको थियो।

विदाई भएका र सरुवा भएर अन्यत्र पुगेपनि आज निम्त्याइएका सुरक्षाकर्मीहरुलाई भट्टराईले आजै रात्रिभोजसमेत दिएका छन्।

विदाई कार्यक्रममा भट्टराईले संक्रमणकालिन स्थितिमा सुरक्षाकर्मी आवस्यक परेपनि अहिले त्यो स्थिति नरहेकाले आफूले फिर्ता गर्ने निर्णयमा पुगेको बताए।

गाउँ गाउँमा सुरक्षाकर्मी अभाव भएको बताउँदै आवस्यक नरहेको स्थितिसमेत ठूलो संख्यामा सुरक्षाकर्मी राखिनु तामझाम भएको भएको दावी उनको थियो।