गिरफ्तार हुने चेतावनीपछि डा. भट्टराईको यस्तो आक्रोश - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

गिरफ्तार हुने चेतावनीपछि डा. भट्टराईको यस्तो आक्रोश



काठमाडौै । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालस्थित विदेशी राजदूतलाई कुटनीतिक मर्यादाभित्र रहेर टिप्पणी गर्न भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले शुक्रबार ट्विटरमार्फत विदेशी राजदूतहरुलाई कुटनीतिक मर्यादाभित्र रहन र नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न भन्दै सचेत गराएका हुन् । संक्रमणकालीन न्यायलाई लिएर अष्ट्रेलियाका राजदूतले पूर्व माओवादी नेताहरु आफ्नो मुलुकमा गिरफ्तार हुन सक्ने समाचार बाहिर आएपछि भट्टराईले कडा आपत्ति जनाएका हुन् ।

‘विदेशी राजदूतहरुले कुटनीतिक मूल्य र मर्यादालाई पालना गर्नुपर्छ र अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । सबै शक्ति राष्ट्रहरु आडम्बरबाट मुक्त हुन आवश्यक छ । आकार र आर्थिक अवस्था जे जस्तो भएता पनि सबै मुलुकुको सार्वभौमिक समानतालाई सम्मान गर्न आग्रह गर्छु’, डा. भट्टराईले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।

मंगलबार नेपालका लागि अष्ट्रेलियाली राजदूतले मानव अधिकार उल्लंघनमा संलग्न पूर्व माओवादी नेता तथा कार्यकर्तालाई अष्ट्रेलियासहित अन्य मुलुकले गिरफ्तार गर्न सक्ने बताएका थिए । हालै आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै राजदूत पिट बडले संक्रमणकालीन न्यायमा ढिलाइ गर्दा द्वन्द्वका बेला गम्भीर प्रकृतिका अपराधमा संलग्न पूर्व माओवादी नेताहरु विदेशमा गिरफ्तार हुन सक्ने चेतावनी दिएको समाचार बाहिर आएको थिए ।

त्यस्तै राजदूत बडको टिप्पणीसँग जोडेर डा. भट्टराईले गरेको अर्को ट्विटमा अब्बल राष्ट्रवादी भन्ने पूर्व माओवादी नेताहरु यसबारे एक शब्द पनि नबोल्दा आफू आश्चर्यमा परेको बताएका छन् । डा‍‍. भट्टराईले विदेशी राजदूतले हाकाहाकी गिरफ्तारीको धम्की दिँँदा चुप लागेर बसेको भन्दै पूर्व माओवादी नेताहरुको कटाक्ष समेत गरेका छन् ।

‘आफुलाई अब्बल‘राष्ट्रवादी’ दाबी गर्ने दुईतिहाइ सरकार र सत्ताको चास्नीमा डुबेका पूर्व माओवादी कमरेडहरू एउटा विदेशी राजदूतले हाकाहाकी यसरी गिरफ्तारीको धम्की दिंदा किन चुइँक्क बोल्दैनन् हँ! नेपालको शान्तिप्रक्रिया हाम्रो आन्तरिक मामिला हो;आफैं सहमतिमा टुंग्याउँछौं; तिमी सुँढ नघुसार भन्न सकिन्न?’ भट्टराईको ट्विटमा उल्लेख गरिएको छ ।