व्यक्तिलाई धनि बनाउन मुआब्जा दिन सकिंदैन: मुख्यमन्त्री - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

व्यक्तिलाई धनि बनाउन मुआब्जा दिन सकिंदैन: मुख्यमन्त्री



प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्तिलाई धनि बनाउन विकास निर्माणको क्रममा मुआब्जा दिन नसकिने बताएका छन् । विकास निर्माणको क्रममा निजिसम्पत्तिको मुआब्जा माग्नेहरू विकासको विरोधी भएको पनि उनले बताए।

अहिलेको अवस्थामा प्रदेश सरकारले व्यक्तिलाई मुआब्जा दिएर नयाँ संरचना बनाउन नसकिने उनले बताए। भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीसँग भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन्। ‘मुआब्जा दिएर प्रदेश सरकारले सडक बनाउन सक्दैन, असंभव कुरा गरेर आशा देखाउने बानि मेरो छैन,’ उनले भने ‘अबस्था हेरेर अब सरकारले मुआब्जा दिने हैन।’ सरकारले बनाउने विभिन्न संरचना निर्माणसँगै विकास निर्माण प्रकृया अगाडि बढ्ने उनले बताए।

राज्यले लगानी गरी सडकलगायतका संरचना बनाउँदा व्यक्तिको सम्पत्तिको मूल्याङ्कन बढ्ने हुँदा सोही अनुपातमा राज्यलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ। मुआब्जाका बखेडा झिक्ने ठाउँमा प्रदेश सरकारले लगानी गर्न नसक्ने पनि उनले स्पष्ट पारे।‘जहाँ अनावश्यक रुपमा मुआब्जाको बखेडा झिकिन्छ, मान्नोस् त्यहाँका स्थानीयले विकास चाहन्‍नन्’ उनले भने ‘विकासको लागि जनता लाग्नु पर्‍यो नी।’ यस्ता क्रियाकलापले राज्य कमजोर हुने र व्यक्ति धनी हुँदै जाने परिपाटीको विकास हुने उनको भनाइ थियो।

मुख्यमन्त्री पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने बताए। साउनको २ साता नाघ्दै गर्दा मुख्यमन्त्री पौडेलले काम समयमै सक्ने ठेकदारदार प्रोत्साहन गर्नुपर्ने धारणा राखेका हुन्। तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई जरिवानाको व्यवस्थामा कडाई गर्नुपर्ने पनि उनले बताए। उनले नश्चित समय ठेकेदारले आयोजना मर्मत गर्ने नीति ल्याउन पनि प्रदेश सरकारले गृहकार्य गरिरहेको बताए।

अघिल्लो आर्थिक वर्षमा कतिपय ठेकदारले मोबिलाइजेसन रकम लिएर पनि काम नगरेको टिप्पणी गर्दै मुख्यमनत्री पौडेलले भने ‘मोबिलाइजेसन रकम लिएर कतिपय ठेकेदार सम्पर्क बाहिर रहने गरेका छन्। अब मोबिलाइजेसन रकमबिनै काम गर्ने नीति ल्याउने विषयमा छलफल भइरहेको छ।’

अहिले प्रदश सरकारले ट्रयाक खोलिसकेको बताउँदै उनले अब विकास गति तिब्र रुपमा अगाडि बढ्ने बताए। कार्यक्रममा प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. रामचन्द्र ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा सहभागि थिए। मुख्यमन्त्री पौडेलले विकासको लागि सबै सरोकारवालाहरूलाई एकमत र एकढिक्का भएर लाग्न निर्देशन समेत दिए।