प्रमुख पर्यटकिय गन्तव्यको रुपमा डल्फिन: मन्त्री भट्टराई - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रमुख पर्यटकिय गन्तव्यको रुपमा डल्फिन: मन्त्री भट्टराई



विशाल पाण्डेय / कैलाली ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा डल्फिनको विकास गर्न सकिने बताएका छन् ।

शनिबार कैलाली होटल व्यवसायी संघको आयोजनामा
टीकापुरमा शुरु भएको डल्फिन महोत्सव -२०७६ को उद्घाटन कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै मन्त्री भट्टराईले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा डल्फिनको विकास गर्न सकिने बताएका हुन् ।

मन्त्री भट्टराईले ठुला ठुला समुद्रमा पाइने डल्फिन यहीँ मोहना र कर्णाली नदिमा रहेको हुँदा यसको संरक्षण र सम्बर्द्धनमा तिनै तहको सरकार मिलेर टिकापुरलाइ विश्वभरबाट नै पर्यटकीय गन्तव्यको रुपमा चिनाउन लाग्नुपर्ने बताए । मन्त्री भट्टराईले डल्फिन प्रतिको स्थानीयको मेहनत र लगावले गर्दा डल्फिन संरक्षण भएको बताए । उनले भने ,” स्थानीयहरुनै डल्फिन संरक्षणमा जुटेका छन् । प्राकृतिक ठाउँलाई अझ व्यवस्थित बनाउने हो भने पर्यटकहरु धेरै आइ स्थानीयको जीविकोपार्जनमा समेत सहज हुन्छ ।”

मन्त्री भट्टराईले टिकापुर क्षेत्रलाई नेपालमै डल्फिनको महत्त्वपूर्ण गन्तव्यको रुपमा विकास गर्नको लागि प्रदेश तथा स्थानीय सरकारलाई योजना र डिपिआर सहित आफ्नो मन्त्रालयमा छलफलको लागि समेत आमन्त्रण गरेका छन् । मन्त्री भट्टराईले टिकापुर नेपालको ऎतिहासिक र व्यवस्थित क्षेत्र रहेको बताउदै टिकापुर एयरपोर्टलाई नयाँ ढंगले संचालन गर्नको लागि मन्त्रालयको प्राविधिक टोलिलाई छिट्टै नै अध्ययन गर्न पठाउने प्रतिबद्धता समेत जनाए । उनले भने ,” पर्यटकीय आकर्षक केन्द्र तथा स्थानीय जनसमुदायको सेवाको लागि एयरपोर्ट संचालन गर्न एक अध्ययन टोली पठाउने र सोही टोलीको प्रतिवेदनका आधारमा टीकापुर एयरपोर्ट सञ्चालन गरिन्छ ।” त्यस्तै शनिबारनै मन्त्री भट्टराईले विश्व रामसार सुचिमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रको समेत अवलोकन गरेका थिए ।

नागरिककर्मी रावल सम्मानित

कार्यक्रममा डल्फिनको संरक्षण र प्रवर्द्धनमा कमल चलाएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावललाई सम्मान गरिएको छ । प्रमुख अथिती मन्त्री भट्टराईले नागरिक दैनिकका संवाददाता समेत रहेका रावललाई प्रमाण पत्र प्रदान गरेका छन् । सोही अवसरमा डल्फिन संरक्षणकर्मी भोजराज ढुंगाना, स्थानीय धनीराम रेग्मी, नन्द बोहरा र गणेश साउँदलाई समेत कार्यक्रमका बिच सम्मान गरिएको थियो ।

“डल्फिन संरक्षण सम्बर्द्धन तथा पहिचान, पर्यटन विकासको अभियान ” भन्ने नाराका साथ विश्वमै दुर्लभ डल्फिन संरक्षण र त्यसको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको हो । महोत्सव यहि भदौ ३० गतेसम्म चल्ने छ ।