कञ्चनपुरको डोकेबजारमा ट्राफिक व्यवस्थापन अस्तब्यस्त हुँदा दुर्घटनाको जोखिम बढ्यो   - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कञ्चनपुरको डोकेबजारमा ट्राफिक व्यवस्थापन अस्तब्यस्त हुँदा दुर्घटनाको जोखिम बढ्यो  



रञ्जित लामा 

पुनर्वास, कञ्चनपुर । कञ्चनपुरको डोकेबजारमा ट्राफिक ब्यबस्थापन दिनप्रतिदिन अस्तब्यस्त बन्दै जादा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार र धनगढी जोड्ने मुख्य सडकमै अटोरिक्साहरु जथाभाबी पार्किङ गर्दा ट्राफिक ब्यबस्थापन दिनप्रतिदिन अस्तब्यस्त बन्नुका साथै दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

कञ्चनपुरको डोकेबजार, कैलालीको धनगढी र गौरीफण्टा नाका जाने मुख्य सडकखण्डमा प्रत्येक दिन हजारौं यात्रुहरुको घुईंचो लाग्ने भएपनि ट्राफिक ब्यबस्थापनमा भने ट्राफिकले चाँसो नदिएको स्थानीयको गुनासो छ ।

साँघुरो सडक, अब्यबस्थित ट्राफिक ब्यबस्था र बढ्दै गएको सवारी सधानको चापका कारण अहिले डोके बजार क्षेत्र दुर्घटनाग्रष्त बन्दै गएको छ । पुनर्वास–बेलौरीदेखि डोकेबजार हुँदै धनगढी गुड्ने सवारी साधनको चाप दिन–प्रतिदिन अत्याधिक रुपमा बढ्न थालेपछि डोकेबजार क्षेत्र दुर्घटनाग्रष्त बन्दै गएको हो ।

ट्राफिक प्रहरी एक कुनामा मात्र बस्ने तर बजार क्षेत्रमा नजाने भएका कारण बजारमा जथाभावी रोकिने सवारी साधनहरुले जाम र दुर्घटनाको समस्या निम्त्याउने गरेको स्थानीयले बताए ।

झट्ट हेर्दा सामान्य लागेपनि बजार क्षेत्रमा यसरी सवारी साधनहरु रोकिनाले यात्रु, सवारी चालक साथै स्थानीयवासीहरुलाई प्रत्यक्षरुपमा प्रभाव पार्दै गएको स्थानीय सुजित क्षेत्रीले बताए । डोकेबजार क्षेत्रमा बेलैमा ट्राफिक ब्यबस्थापन हुन नसके सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई रोक्न नसकिने स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।