प्रधानमन्त्रीको जीवन नै जोखिममा थियो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रधानमन्त्रीको जीवन नै जोखिममा थियो



काठमाण्डौ- प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमा आएको अर्को जटिल चुनौतीको सामना गरेका छन्।

मिर्गौला रोगको उपचार गराइरहेका उनको पेटमा संक्रमण फैलिएकाले जीवन जोखिममा परेको थियो।

तर, डाक्टर समूहले छोटो समयमा उचित निर्णय गर्दा ओलीको स्वास्थ्य सुधार हुँदै गएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

अस्पताल पु¥याउँदा प्रधानमन्त्रीको स्वास्थ्य गम्भीर थियो। तर, मनमोहन सेन्टरमा आयसियू खाली थिएन। त्यसैले अर्को कोठालाई तुरन्तै आइसियूमा परिणत गरेर ओलीको अप्रेसन गरिएको थियो।

अप्रेसन अघि र पछि पनि संक्रमण फैलने र अनियन्त्रित हुने जोखिम थियो। जटिल स्वास्थ्य अवस्थामा एक दुईजना डाक्टरले निर्णय गर्न सक्ने अवस्था थिएन। त्यसैले ठूलो समूहलाई सामेल गराइएको थियो।

प्रधानमन्त्रीको उपचारमा निजी चिकित्सक डा.दिव्यासिंह शाह, मनमोहन सेन्टरका प्रमुख डा.उत्तम श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा.अरुण सायमी र डा.भगवान कोइराला, सर्जरी विभागका रमेशसिंह भण्डारी र डा.पलस्वा जोशी, एनेस्थेसियाका डा.सभास आचार्य, डा.विश्वास प्रधानलगायतको टोली उपचारमा खटिएको थियो।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तिमा तीन दिन आइसियूमा राखिने छ।

सामान्य वार्डमा सार्दा भेट्ट आउनेको भिड हुने भन्दै अस्पतालले संक्रमणको जोखिमबाट बचाउन पनि ओलीलाई आइसियूमै राखिएको छ।

श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालय र परिवारका सदस्यबाहेकलाई भेट्न दिइएको छैन।