म कांग्रेसको नेता भए पनि राजदूत बनिसकेपछि त्यसलाई भुलेर कुटनीतिक मर्यादा अनुसार काम गर्छु :दीपकुमार - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

म कांग्रेसको नेता भए पनि राजदूत बनिसकेपछि त्यसलाई भुलेर कुटनीतिक मर्यादा अनुसार काम गर्छु :दीपकुमार



१२ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायले आफू फुटबल जस्तो नभएको बताएका छन् ।

बुधबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपाध्यायमाथि सुनुवाई भएको थियो । बैठकमा खासगरी एमाले सांसदहरुले कडा कटाक्ष गर्दै उपाध्यायलाई फुटबल जस्तो बनेको टिप्पणी गरेका थिए ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले एउटा सरकारले फिर्ता बोलाउने र अर्को सरकारले पठाउने गर्दा फुटबल जस्तो बनेको व्यक्तिले कसरी कुटनीतिक मर्यादामा रहेर काम गर्नसक्छ ? भनेर प्रश्न गरे । जवाफमा उपाध्यायले भने, ‘म बिल्कुल फुटबल भएको छैन । देशले दिएको, सरकारले दिएको जिम्मेवारी कुटनीतिक मर्यादामा रहेर निर्वाह गर्छु ।’

उनले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफूलाई बायस भयो भनेर लगाएको आरोप गलत भएको बताए । ‘मलाई पहिलोपटक फिर्ता बोलाउँदा कुनै अभियोजन लगाइएको थिएन । मेरो भूमिका बायस थियो भन्ने निराधार हो । म कांग्रेसको नेता भए पनि राजदूत बनिसकेपछि त्यसलाई भुलेर कुटनीतिक मर्यादा अनुसार काम गर्छु ।’

अहिलेको सरकारले आफूलाई राजदूत सिफारिस गर्दा स्वीकार्ने कि नस्वीकार्ने भनेर द्विविधामा परे पनि सबैसँग सल्लाह गरेर स्वीकारेको बताए । ‘सबैसँग सल्लाह गर्दा ठीकै हुन्छ भन्ने भयो र स्वीकार गरें । नेपाल र भारत सम्बन्ध चुक हुन दिनेछैन । नेपालको हितलाई हुने गरी काम गर्छु,’ उनले भने ।

बुधबारै चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलको पनि सुनुवाई भएको छ ।