कविता- सिपाही - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

कविता- सिपाही



-दिनेश अधिकारी

पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर
बच्चा–मुख आमा–छातीमा टाँसिनुको भाँतिमा
चुल्ठीमा अल्झेको लालीगुराँस
तिम्रो यौवनलाई असाध्यै सुहाएको छ
सिन्दूर पखालेर–
इच्छाहरुमा भो ! आफूलाई नमार
निधारमा झलमलाएको
बाटुलो सिन्दूरे टीको
तिम्रो गालाको लालीसँग खुबै खुलेको छ

काँचो धागोले बाँधेको
जाबो एउटा चिठी आयो भन्दैमा
म भन्दिनँ–तिम्रो लोग्ने मरेको छ
र, कसैले मरेकै हो भन्छ भने पनि
निरर्थकमा मरेको छैन तिम्रो लोग्ने
गर्व गर !
ऊ–
तिमीले अन्न उब्जाउने
यो देशको माटोलाई मलिलो पारेर गएको छ
निधारको अक्षता पखालेर सामल जुटाउनुपर्ने यो अभावमा
कोक्रोमै खोक्रो पेट बाँचिरहेको एउटा नानीलाई
उसले एक पेट ‘रासन’ छुट्टयाएर गएको छ
तिमी त सिपाहीकी स्वास्नी पो हौ
के यत्ति पनि थाहा छैन–
म¥यो भनेको तिम्रो लोग्ने
बाफबाट पानी र पानीबाट बाफ जस्तै
अहिले–
तिम्रो सुरक्षित देश भएर फर्केको छ

र, मसँग सोध्छ्यौ भने त
सुन !
सिपाही कहिल्यै पनि मर्दैन
कि त ऊ–
नियुक्ति लिएकै दिन मरिसकेको हुन्छ !!
××