प्रचण्ड होइन, ओली नै ५ वर्षको प्रधानमन्त्री : दिनानाथ शर्मा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रचण्ड होइन, ओली नै ५ वर्षको प्रधानमन्त्री : दिनानाथ शर्मा



काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले आलोपालोको कुरा उठेपनि अहिले त्यो सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘अहिले सरकारले धमाधम परीणाम दिन थालेको छ । सरकारलाई अस्थिर बनाउने काम कोही कतैबाट हुनुहुँदैन् । वर्तमान प्रधानमन्त्री ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो । यसमा कुनै द्धिविधा छैन् ।’

साक्षात्कारमा बोल्दै नेता शर्माले मन्त्रिमण्डल पूनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भएको जनाए । तर, कहिले पूनर्गठन गर्ने वा नगर्ने भन्ने सम्पूर्ण निश्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकोले अहिले नै केही भन्न नसकिने पनि शर्माको स्पष्टोक्ति छ । उनले भने,‘मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने सोचाई हाम्रा शीर्ष नेताहरुमा आएको छ । तर, यसको निर्णय त प्रधानमन्त्रीज्यूले गर्ने हो । कहिले हुन्छ मलाई थाहा छैन् ।’

नेता शर्माले संघीय संसदको सभामुख पद रिक्त रहेकोले छिटोभन्दा छिटो सभामुख निर्वाचित गर्ने पनि जनाए । नेकपाले सभामुखमा दाबी गर्ने पनि उनले जनाए । उनले भने,‘संविधानमा भएको व्यवस्थाबमोजिम हामी सभामुख र उपसभामुखको निर्वाचन गर्छौं । यो ठूलो विवाद र समस्याको विषय होईन् । सकेसम्म निर्वाचन नहोस भन्ने हाम्रो चाहना छ । सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिकै प्रयत्न गर्नुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण शानदार रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् । ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो, यो हामी सबैको लागि सुखद कुरा हो । उहाँको भ्रमण शानदार रुपमा सफल भएको र उपलब्धिमूलक रहेको छ।’–उनले थपे ।

सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमणको क्रममा सरकारले परिपक्व कुटनीति र व्यवहार प्रस्तुत गरेको पनि भन्दै उनले सरकारलाई बधाई दिए । उनले भने,‘सरकारले उच्चस्तरीय भ्रमणको लागि परिपक्व व्यवहार देखायो, यो खुशीको कुरा हो । यस प्रकारका उच्चस्रतीय भ्रमण गराउन नेपाल सरकार सक्षम छ भन्ने सन्देश प्रवाह भएको छ ।’

शर्माले नेपालको विकास र समृद्धिमा चीनले सुरुदेखि नै सहयोग र टेवा पुर्याउँदै आएको पनि सम्झिए । चीनको निःशर्त अनुदानमा नेपालमा भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता कारखाना सञ्चालन भएपनि पछि यसलाई बेचेको पनि उनले सुनाए । उनले भने,‘हामीले चीनको सहयोगलाई सदुपयोग गर्न सकेनौं भन्नेबारे अहिले प्रश्न उठेको छ । चीनले नेपालमा निर्वाध रुपमा लगानी गर्न चाहेको पनि उनले सुनाए ।

यद्धपी चीनले पनि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएझैं भारत, नेपाल र चीनबीचको त्रिपक्षीय साझेदारीमा जोड दिएको उनको भनाई छ । उनले भने,‘नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले पनि यो कुरा दोहोर्याउनुभएको छ । चिनियाँ पक्ष अहिले नेपालमा नेपाल–चीन संयुक्त लगानीमा अघि बढ्न चाहन्छ ।’

नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले नेपालको जलविद्युतको विकासमा पनि भारत, चीन र नेपालको लगानी हुनुपर्ने कुरा उठाएको शर्माले जानकारी दिए । उनले नेपालको हितमा भारत र चीन दुवै देशको सहयोग रहँदै आएकोले आगामी दिनमा पनि यही किसिमको सहयात्रा जारी राख्नुपर्ने र समझदारी कायम गर्नुपर्नेमा जोड दिए ।

शर्माले वर्तमान सरकार गठन भएपनि यसले अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो र सुदढ बनाएको दाबी गरे । उनले भने,‘सरकारले अन्तर्राष्ट्रियस्तरमा विश्वासको वातावरण बनाएको छ । पछिल्लो समय नेपालमा उच्चस्तरीय भ्रमणहरु आदानप्रदान हुन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभएको छ । यो ठूलो उपलब्धि हो ।’

पछिल्लो समय नेपाल–भारत र नेपाल–चीनबीच भएका द्धिपक्षीय सम्झौताहरु पनि समयसिमाभित्रै कार्यान्वयनतर्फ अघि बढिरहेको उनले उदाहरण पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा गरेको पेट्रोलियम पाईपलाईनको सम्झौता शिलान्यास गरेको र तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएको भन्दै सम्झौता कार्यान्वयनमा देखिएको तत्परताको शर्माले प्रशंसा गरे ।

नेपालले केही समयपछि विद्युत बढि भएर बेच्नुपर्ने अवस्था आउन लागेको सुनाउँदै उनले यसको लागि तयारी गरिरहेको पनि बताए । अन्तरदेशीय प्रशारण लाईनमा जोड्नको लागि पनि सहज हुने बताउँदै बढि भएको विद्युत बंगलादेशलाई बेच्नेपनि सरकारको तयारी रहेको शर्माको भनाई छ ।

उनले भने,‘कुन मोडालिटीमा बेच्ने भन्नेबारे कुराकानी भैरहेको छ ।’ त्यस्तै, उनले भारतीय कम्पनीद्धारा निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजनाको कामपनि अहिले सन्तोषजनक रुपमा अघि बढेकोमा खुशी व्यक्त गरे । उनले भने,‘अहिले २५ प्रतिशत काम सम्पन्न भएको खबर आएको छ, यो खुशीको कुरा हो । भारतीय कम्पनीले नेपालमा तदारुकताका साथ काम अघि बढाईरहेका छन् ।’ शर्माले नेपालमा लगानी गर्न भारतीय कम्पनीहरु निकै ईच्छुक रहेको बताए । सरकारको तर्फबाट भारत र चीनसँगमात्रै नभएर अरु देशसँगपनि सम्बन्ध सुमधुर र माथि उठाउने काम भएको उनको विश्वास छ ।

वर्तमान सरकारले धेरै राम्रो र सन्तोषजनक काम गरिरहेको शर्माको दाबी छ । सरकारले अघिल्लो सरकारले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरुलाई पनि प्राथमिकताका साथ अघि बढाएको र समयमै काम सम्पन्न गर्नतर्फ ने सरकार बढि केन्द्रित रहेको उनले स्पष्ट पारे । यातायात क्षेत्रमा धेरै सुधार भएको उनको दाबी छ । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कामपनि हिजोकै सरकारले अघि बढाएको काम भएको र यसलाई वर्तमान सरकारले निरन्तरता दिएको उल्लेख गर्दै शर्माले अघिल्लो सरकारले अघि बढाएको काम सरकारले बेवास्ता गरेको छ भन्न नमिल्ने तर्क गरे ।

उनले नेपालमा रेलमार्गको कुरा गर्दा हाँसोको विषय बनाईएपनि पनि यो आवश्यकत्ता भएको बताए । सरकारले पूर्व–पश्चिम रेलमार्गको लागि द्रुत गतिमा काम अघि बढाईरहेको बताउँदै सडकमार्गका कामपनि त्यही गतिमा भैरहेको उनले स्पष्ट पारे । सरकारले राम्रो गर्ने प्रयत्न गरेको भन्दै सुशासनको क्षेत्रमा पनि त्यही अनुभुति हुनेगरि काम भएको उनको दाबी छ । शर्माले १२ वर्षअघिका अपराधिक कर्म गर्नेहरु अहिले धमाधम कानुनको कठघरामा उभिएको उदाहरण पेश गरे ।

सत्ताको आडमा अपराध कर्म र भ्रष्टाचार गरेपनि ५० वर्षपछि पनि दोषी कारवाहीको दायरामा आउने उनको विश्वास छ । उनले भने,‘अपराध गर्नेलाई माफी दिनुहुँदैन् । दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ प्रतिपक्षीले पनि सरकारका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भनेर खबरदारी गर्नुपर्ने उनको सुझाव छ ।