अध्यक्षसँग झगडा गर्दा गिरीको खुस्कियो मन्त्री पद
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको छ । पार्टी सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव पेश गरेपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले आपत्ति जनाएका थिए । थापाले पार्टी निर्णय विपरित मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव राखेको भन्दै तत्काल मन्त्रिपरिषद् बैठकमै राजीनामा दिन निर्देशन दिएका थिए । मन्त्री गिरीले राजीनामा दिन आफूलाई आपत्ति नभएको तर, राजीनामा प्रधानमन्त्रीलाई दिने जवाफ फर्काएका थिए ।
मन्त्री गिरीले आफ्नो प्रस्तावप्रति आपत्ति जनाएपछि पार्टी अध्यक्ष कमल थापालाई झोक्किएर भनेका थिए, ‘मलाई राजीनामा दिन आपत्ति छैन । तर, राजीनामा तपाईंलाई होइन प्रधानमन्त्रीलाई बुझाउने हो । के तपाईंलाई चाहिँ मन्त्री बनिराख्नका निम्ति चुनावमा जनताले जनादेश दिएका छन् ?’
यही विवादमा रुष्ट बनेका थापाले मन्त्री गिरीलाई शुक्रबार नै बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका हुन् । देउवा मन्त्रिपरिषद्मा अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।
यसो भन्छन् गिरी ?
गिरीले पार्टीको कामकारबाहीबारे असन्तुष्टि जनाउँदै नाम प्रजातान्त्रिक भएपनि पार्टीभित्रको प्रजातन्त्रको अभ्यास हुन नसकेको आरोप लगाए । ‘पार्टीभित्र कुनै आधिकारीक निर्णय हुँदै हुँदैन । प्रजातान्त्रिक पार्टीमा बहस हुन्छ । तर, राप्रपामा छलफल पनि हुँदैन’, गिरीले भने, ‘राप्रपा भनेको कमल थापाको निरंकुशताको पराकाष्ट हो ।’
पार्टीगत निर्णय नगरी अध्यक्ष थापाले आफूलाई बर्खास्त गरेको आरोप गिरीको छ । ‘प्रजातन्त्रमा सबैले आआफ्नो विचार र गुनासा राख्न पाउने अधिकार छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा चरम निरंकुश बनिसक्नु भएको छ । यो सब त्यसकै परिणाम हो ।’