निर्मला हत्याकाण्ड : अभियुक्त बनाइएका दिलिपलाई क्षतिपूर्ति दिनुपर्ने माग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निर्मला हत्याकाण्ड : अभियुक्त बनाइएका दिलिपलाई क्षतिपूर्ति दिनुपर्ने माग



कैैैलाली । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा प्रहरीले मुछेका दिलिपसिंह बिष्टलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिपलाई प्रहरीले जबर्जस्ती दोषी करार गराउन खोजेको र प्रहरीले दिएको यातनाकै कारण स्वास्थ्य अवस्था बिग्रेको भन्दै उनको परिवारजनले क्षतिपूर्ति माग गरेका हुन् ।

मानसिक सन्तुलन ठीक नभएका दिलिपलाई प्रहरीले भदौ ४ गते निर्मला हत्याकाण्डका मुख्य दोषी ठहर गर्दै सार्वजनिक गरेको थियो । तर निर्मला पन्तको नमूनामा भेटिएको डीएनएसँग दिलिपको डीएनए नमिलेपछि भदौ २५ गते थुनामुक्त गरिएको हो ।

दिलिपका दाजु खडकसिंह विष्टले अरु पीडितजस्तै आफ्नो भाई दिलिपले पनि राहत र क्षतिपूर्ति पाउनुपर्ने दाबी गरे । खडकले निर्मला र सन्नी खुनाको परिवारले पाएजस्तै आफ्नो परिवारले पनि राहत पाउनुपर्ने माग राखे । उनले दिलिप जिउँदो शहीद भएकाले खुना र पन्त परिवारले जसरी स्थानीय, प्रदेश र संघीय सरकारबाट १८/१८ लाख पाए त्यतिकै दिलिपलाई पनि रकम उपलब्ध गराउनुपर्ने बताए ।

‘यत्रो जघन्य अपराध करार गराएर मेरो भाईको मानसिक सन्तुलन अवस्था झन् बिग्रिएको छ,’ उनले भने, ‘बिना कारण मेरो परिवारको बदनाम गरियो ।’

पक्राउ परेका बेला कुटपिटका साथै यातना दिएर दिलिप मर्नु न बाँच्नु भएको बताउँदै खडकले ऋण काढेर दिलिपको उपचार गराइरहेको दुखेसो पोखे । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।साभार : लोकान्तर