घोडाघोडी अस्पतालमा डिजिटल रेडियोग्राफी सेवा सञ्चालन

विशाल पाण्डेय / सुखड,कैलाली ।
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी हस्पिटलमा डिजिटल रेडियोग्राफी सञ्चालनमा आएको छ ।
मध्यवर्ती क्षेत्रका नागरिकहरूलाई गुणस्तीय स्वास्थ्य सेवामा पहुँच पुर्याउनको लागि घोडाघोडी अस्पतालले डिजिटल रेडियोग्राफी (एक्सरे मेसिन) सञ्चालनमा ल्याइएको हो । डिजिटल रेडियोग्राफीको मङ्गलवार घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले मध्यवर्ती क्षेत्रका बिरामीहरूलाई घोडाघोडी हस्पिटलले धेरै नै सेवा सुविधा दिएको बताए । नगर प्रमुख चौधरीले आगामी दिनमा नगरपालिकाले घोडाघोडी अस्पतालसँग स्वास्थ्य शिविर तथा स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रमहरू सहकार्य गरी अघि बढ्ने बताउँदै घोडाघोडी नगरपालिकामा २ वटा एम्बुलेन्स ल्याउने निर्णय गरेको बताए । मध्यवर्ती क्षेत्रमा रगतको अभाव हुने हुँदा बिरामीहरूलाई सहज हुने गरी ब्लड बैङ्कको व्यवस्थापनको लागि नगरपालिका लागि परेको समेत नगर प्रमुख चौधरीले जानकारी दिए ।
कार्यक्रममा घोडाघोडी अस्पताल प्रा.लि.का प्रबन्ध निर्देशक डा.महोमद अन्सेकले सुदूरपश्चिममै पहिलो पटक डिजिटल रेडियोग्राफि मेसिन सञ्चालन गरी यस क्षेत्रका नागरिकहरूलाई अब उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताए । उनले कैलालीको ग्रामीण क्षेत्रमा स्थापना भएको अस्पतालले विभिन्न चरणहरू पार गर्दै सुविधा सम्पन्न ५ तले अत्याधुनिक आफ्नै भवन र्निमाणको थालनी गरेको समेत जानकारी दिए ।
हस्पिटलका अध्यक्ष विष्णु प्रसाद सापकोटाले घोडाघोडी अस्पतालमा डिजिटल रेडियोग्राफी सञ्चालनमा आए सङ्गै मध्यवर्ती क्षेत्रमा भएका बासिन्दाहरूले बिरामी हुँदा अन्यत्र धाउन पर्ने बाध्य टरेको बताए । सापकोटाले प्राइभेट अस्पताल अन्तरगत सुदूर पश्चिम प्रदेशमै पहिलो पटक घोडाघोडी अस्पतालले डिजिटल रेडियोग्राफी सञ्चालनमा ल्याएको जानकारी दिए ।
स्थापनाकालको छोटो समयमै आफूहरूले हाड तथा नशा रोग ,प्रसूति तथा स्त्रीरोग , जनरल फिजिसियन लगायतका अन्य सेवा दिई रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । स्थानीय तहमै गुणस्तीय स्वास्थ्य सेवा पाउने भएपछि टाढा जानुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राहीहरु उत्साही भएका छन् । घोडाघोडी अस्पताल २०६४ सालमा स्थापना भएको हो ।

