दिदीको हत्यारा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

दिदीको हत्यारा



केशु खण्डलु मगर

अक्सर उ लेखिरहन्थ्यो । खाना खाने बेला बाहेक उसले नोटबुक र कलम छोड्दैनथ्यो। प्राय कसैसँग बोल्दैनथ्यो।मौनता उसको साथी भैसकेको थियो। उसको हेराइमा डर घृणा र शंकाहरु लट्पतिएका हुन्थे। हुन त जेलमा बसेको बेला लेख्ने धेरै राजनीतिज्ञ,लेखकहरूको बारेमा सुनेको थिए ।तर मेरो पाँचबर्षे प्रहरी जागिरे जीवनमा भने उ पहिलो थियो,जो जेलभित्र लेखिरहन्थ्यो। भर्खरै मात्र युवाअवस्थामा प्रवेश गरेको उसलाई हेर्दा लाग्थ्यो,उ कुनै एउटा चलचित्रको रहस्यमयी पात्र हो,जसले पुरै चलचित्रको कथा भन्नेछ।

जिल्ला कारागार पर्वतबाट म यहाँ आएको थिए ।सरुवा भएर यहाँ आएको दुइबर्ष पुग्नै आँटेको थियो। त्यसैले यस कारागारमा सजाय भोगेर बसेका कैदीहरू मेरा लागि नौलो थिएनन्। धेरै जसो बलात्कार र हत्याको अभियोगमा सजाय पाएकाहरू थिए।तर ती मुद्दाहरुपनि मेरा लागि नौलो थिएन।जब दुई महिनाअगाडि मात्रै उ यस कारागारमा आयो,तब मलाई उ नौलो लाग्यो। उ सङ्ग जोडिएका अपत्यारिलो र अनपेक्षित घटनाहरू सबै नौलो लाग्न थाल्यो । हो, उ आफ्नै दिदीको हत्याको आरोपमा समातिएको थियो।

उ यहाँ आएदेखि उसलाई भेट्न कोही आएनन् ।सायद उसका कोही थिएनन् । तर जिल्लाका ठुलै नेताहरू चाहिँ साथमा वकिल लिएर भेट्न आउँथे।तिनीहरू उसलाई हत्याको आरोप स्विकार्न जबर्जस्ति गर्थे । कहिले फकाउँथे।लोभ्याउथे।धम्काउथे।तर उसको मुखबाट शब्द निस्किँदैनथ्यो।मलाई लाग्थ्यो , उ निर्दोष छ।उसले आफ्नो दिदीको हत्या गर्न सक्दैन । तर हामी हाम्रो ड्युटी निभाउथ्यौं ।एउटा निर्दोष मान्छेको छातीमा बुटै बुटले हानेर।चिसो पानीमा उसको टाउको डुबाएर।जबर्जस्ती आफूलाई हत्यारा स्वीकार गर भनेर । दिदीको वियोगमा डुबेको शरीरमा करेन्ट लगाएर ।

हिजो पनि सधैँ आउने मान्छेहरू आए। नेताहरू आए।वकिलहरू आए। उनीहरू उसलाई हत्यारा साबित गराउन आएका थिए । सुरुमा उसलाई सम्झाउन थाले । फकाउन थाले।तर उसले केही सुनेन।सुनेर पनि नसुनेजस्तो गरेर बस्यो ।तब आउनेहरू मध्य बत्तिसको हाराहारीको युवकले उसलाई भन्यो,

“बाबु ,दिदीको हत्या मैले नै गरेको भन ल।” त्यो युवक उसको भिनाजु थियो ।तर उ प्रतिक्रियाबिहिन बस्यो। तटस्थ । आँखामा टिलपिल आँसु बाहेक केही देखाउन चाहेन। आँसुले भन्न खोजेको थियो सायद,मैले दिदीको हत्या गरेको छैन।

युवकले फेरि उसको काँधमा हात राख्दै भन्यो,

“बाबु,तिमी यहाँ धेरै समय बस्नुपर्दैन । केही वर्षपछि म तिमीलाई बाहिर ल्याइहाल्छु।तिमीले मात्र एक पटक ‘हो’ भनिदिनु ।”  उसले त्यस युवकलाई घृणित नजरले हेर्‍यो।र फेरि मौन बस्यो ।  एक्कसी उसले दुइटै हातले त्यस युवकको घाँटी समायो।जोडले समाएर नै होला,त्यस युवकको रातो छाला निलो कालो हुन थाल्यो।मेरा साथीहरू गए।र युवकलाई छुटाए।त्यो युवक केही बेर खोकिरह्यो।केहिबेरपछी माथिबाट हामीलाई अर्डर आयो। हामीले आफ्नो त्यही ड्युटी दोहोराउन थाल्यौँ जुन पहिला पनि गर्थ्यौँ ।करिब आधाघन्टापछि उ बेहोस भएर ढल्यो।उसलाई हस्पिटल लाने तयारी गरियो।

मेरा साथीहरू सहित उसलाई हस्पिटल लगियो। मलाई भने जान मन थिएन।र गैइन। उसको छुटेको डायरी लिए र जसरी भए पनि पढ्ने निधो गरेर बसे। मैले त्यो डायरी धेरै दिनदेखि पढ्ने धोको पालेर बसेको थिए । फेरि डायरीभित्रका शब्दहरूबाट यथार्थहरूको लावालस्कर निस्किन पनि त सक्थ्यो।त्यसैले मैले बिरामी भएको बहाना बनाए। आजलाई बिदा लिएर क्वाटरमा आए।अनि उसको डायरी पल्टाउन थाले।

कति बिचत्रको छ यो संसार।यही विचित्रको संसारभित्र एउटा रंगीन संसार थियो,जहाँ म मेरो बा’ र दिदी बस्थ्यौ। छोराछोरी हाँसेपछि मात्र हाँस्ने बा’, भाइ रोएपछि आफुपनि रोइदिने दिदी , बा’ र दिदीलाई सताएपछि मात्रै आफ्नो जीत ठान्ने भाइ अर्थात् म , हामी एउटा अनौठो,सुन्दर जिन्दगी बाचिरहेका थियौ। आमा सानैमा बित्नुभएपनि बा’ले अर्को बिहे गर्नुभएन। बरु आमाको अभाव हुन नदिन जहिल्यै कसरत गरिरहनुभयो। म चारबर्षको हुँदा आमा सर्पको टोकाइबाट स्वर्गे हुनुभएको थियो। जब आँखा झन् सानो पारेर आमालाई सम्झिन्छु, स्मृतिमा एन्टेना नमिलेको टिभी जस्तै अस्पष्ट अस्पष्ट उहाँको मुहार आइदिन्छ।

बा’ पहिले इन्डियातिर बस्नुहुन्थ्यो। आमा बित्नुभएपछि घर फर्किनुभयो।तर इन्डिया फर्किनुभएन। पछि गाउँमै ज्याला मजदुरी गरेर बस्नुभयो । आमासाथ नभए पनि कहिल्यै अभावको महसुस गरेनौ । बा’ नै हाम्रा आमाबुबा दुवै हुनुहुन्थ्यो । हामी गाउँकै बिधालयमा पढ्थ्यौ।पढाइमा दिदी र म दुवै अगाडि थियौ।जे होस् , हाम्रो कारण आजसम्म बा’ले शिर झुकाउनु परेन। यसरी समय चर्खा जस्तै घुमिरहेको थियो। हामी समय सङ्गै आफ्नो पाइला चल्दै थियौँ । अब दिदीले आफ्नो बाकी शिक्षाको सहर जानुपर्ने भयो।

दिदी सहर बस्नुहुन्थ्यो ।पढाइमा पनि राम्रै गर्नुभएको थियो । कहिलेकाहीँ बिदामा घर आउँदा बा’लाई काममा सघाउनुहुन्थ्यो । म सङ्ग भने दिदी प्राय राजनीतिकै कुरा गर्नुहुन्थ्यो । गरिब तथा जेहेन्दर बिधार्थीको हकमा लड्छु र लड्नुपर्छ भन्नुहुन्थ्यो ।कोही कोही दिदीलाई विद्यार्थी नेताको संज्ञा  दिन्थे।म भने राजनीति खासै बुझ्दिन्थे ।दिदिभने मलाई बुझाउन चाहनुहुन्थ्यो। जे होस् ,म पहिलेको र अहिलेको दिदीमा आकाश जमिनको फरक पाउँथे । तर मलाई माया गर्ने मामिलामा भने दिदी आमाजस्तै निस्स्वार्थ हुनुहुन्थ्यो । लाग्थ्यो दिदी कहिल्यै फेरिनुहुने छैन।र कहिल्यै फेरिनु भएन।

” बा’ म सुमन सङ्ग प्रेम गर्छु।उहाँ पनि मलाई उत्तिकै प्रेम गर्नुहुन्छ ।हामी बिहे गर्न चाहन्छौँ बा’ । ” एक पटक बिदामा आउँदा दिदीले भन्नुभयो।छोरीको यस्तो शब्दले बा’ बोल्नसक्नुभएन। प्रेम गर्नु गलत होइन।तर दुख गरेर पढाउन सहर पठाएको छोरीले कुनै दिन यस्तो शब्द भन्लिन् भनेर बा’ले कहिल्यै सोच्नुभएको थिएन सायद । बा’ दुखी नै त थिएनन् तर आँखामा आफ्नो गरिबी नाचेको हेर्न पनि सक्नुभएको थिएन।”तर छोरी हामी त ” बा”ले धेरै बोल्न सक्नुभएन। म भने कुनै एउटा दन्त्यकथा जस्तै सबै क्रियाकलाप हेरिरहेको थिए । सुनिरहेको थिए।

“बा’ उहाँको बुबा पनि गरिब,मजदुरहरूको लागि लड्ने मान्छे हुनुहुन्छ । उहाँ पनि म जस्तै गरिब विद्यार्थीहरूको हकहितको लागि लड्ने मान्छे । म उहाँ सङ्ग बिहे गरेर गए भने म सधैँ खुसी हुनेछु।उहाँलाई केहिपनी चाहिँदैन,मेरो साथ भए पुग्छ। हामीलाई हजुरको आशीर्वाद भए पुग्छ । ”

दिदीको लामो वाक्य सुनेर बा’को मुहार उज्यालो हुन थाल्यो । दुखहरूलाई जितेर हुर्किएकी छोरीलाई कोही कसैले साच्चिकै साथ दिन खोज्छ भने कुन बाउको मुहार खुसी नहोला र? फेरि बच्चैदेखि छोरीको रोजाइलाई समर्थन गर्ने बा’ले जिन्दगीजस्तो महत्त्वपूर्ण छनौटमा छोरीकै रोजाइलाई समर्थन नगर्ने कुरा पनि थिएन।
केहिसमयपछी एउटा मन्दिरमा दिदीको बिहे सम्पन्न गर्‍यौ । दिदीलाई एक एक टुक्रा मुटु बाहेक हामीले केही दिन सकेनौ ।तैपनि दिदी खुसी देखिएकी थिइन ।

भिनाजु खुसी देखिनुभएको थियो। सबै परिवार खुसीजस्तै देखिन्थ्यो । बिहेपछि दिदी बिस्तारै घर आउन छोड्नुभयो। सोच्थ्यौ , उहाँ खुसी हुनुहुन्छ । उहाँ साथ नभएपछि हामी पनि शून्य शून्य महसुस गर्थ्यौ ।दिदी कहिलेकाहीँ मात्र घर आउनुहुन्थ्यो । आफ्नो चन्द्रमा जस्तो दिदी साथ नभएपछि घरको आँगन पनि अँध्यारो लग्दो रहेछ ।

तर बिहेको तीनबर्ष भित्रमा दिदीले धेरै अत्याचार सहिसक्नु भएको थियो । धेरै यातना भोगिसक्नु भएको थियो । लाग्छ , नारीहरू यातना सहेर पनि आफ्नो लोग्नेको इज्जत जोगाउन चाहन्छन् । त्यसैले त बिद्यार्थीनेता भइसकेकी मेरो दिदीले भिनाजुको विरुद्ध उत्रिन चाहनुभएन । आफै भित्रै भित्र जलिन् तर परिवारको इज्जत जल्न दिइनन् ।

उहाँको परिवारले दिदीप्रति गर्ने व्यवहारमा दूध पानीको जस्तो फरक आइसकेको थियो। उनीहरू प्राय दाइजोको विषयलाई लिएर दिदीलाई गाली गर्थे । भिनाजु साँझ सधैँ मातेर आउँथे । कहिलेकाहीँ भकुर्थे । यातना दिन्थे । तैपनि दिदीलाई सहने बानी भैसकेको थियो। दिदी सहनुहुन्थ्यो ।

तीजले आँगनमा पाइला टेक्दै थियो । सबैका चेलीबेटीहरू टाढाटाढाबाट दुइचारदिन अगाडि नै माइत आइसकेका थिए । अरूको आँगन उज्यालो देखिएको थिहो। म पनि तीज आउनुभन्दा एक दिन अगाडि सदरमुकाम गएको थिए । आफ्नी दिदीलाई लिएर आउने आसाहरूको भारी बोकेर जाँदै थिए।भोलिपल्ट फर्किनुपर्ने भएकोले म दिदीकै घरमा बस्नुको विकल्प थिएन।

त्यस रात पनि भिनाजु मातेर घर आएका थिए । घर आउने बित्तिकै दिदिसङ्ग झगडा सुरु भैसकेको थियो। आफ्नो माइती साथमा देखेर होला,दिदीले जवाफ यसरी फर्काइरहेकी थिइन कि उहाँको बर्षौदेखिको मुखको पट्टी आज फुकुवा भएको छ । झगडाले ठुलो रूप लिइसकेको थियो ।मैले दिदीलाई नबोल्न आग्रह गरेको थिए।
“बरु मर्छु , सबै सत्यहरू बाहिर निकालेरै मर्छु। यस्ता यौन राक्षसहरु सङ्ग म बस्न सक्दिन।” दिदी झन् रुँदै कराउनुभएकी थिई ।

केहिसमयपछि दिदीको मुखबाट “ऐया ! ” शब्द निस्कियो। दिदीको बोली भुइमा खस्न नपाउँदै म फर्किए । दिदीको पेटमा भिनाजु नामको राक्षसले छुरा धसिरहेको थियो।मेरो ओठहरू खुल्लाको खुलै रहे ।म केही बोल्न सकिन।आवाज निकाल्न खोज्दा आफ्नै गला दबिएजस्तो लाग्यो ।उसले दिदीको पेटमा करिब सात आठचोटी छुराले हानेपछि दिदी बुङ्ग्लुङ्ग भुइमा ढालिन् । बलिन्द्र आशुका थोपाहरुसङ्गै म हेरेको हेर्यै भए ।केही गर्न सकिन ।

“अब यसलाई चाहिँ के गर्ने ?” मतिर इसारा गर्दै भिनाजुको बा’को यस्तो कुराले म झस्किए।
मैले के गरे,के सोचे आफैलाई याद छैन । आफ्नो ज्यानलाई कसरी त्यसघरबाट निकाले थाहा छैन। आफ्नो प्यारी दिदीको लासको वास्तै नगरी म त्यहाँबाट भागे ।भोलिपल्ट पत्रिकामा “दिदीको हत्यापछि भाइ फरर” भन्ने शीर्षक देखेर म रोए।कराए।तर मेरो कुरा सुन्ने कोही भएनन् । दिदीलाई सङ्गै ल्याउन हिँडेको मान्छे,त्यही दिदीको हत्याराको अरोपी भएर फर्किन मन लागेन । म घर गैइन।

दिदीको अन्तिम वाक्यहरू म खुब सम्झिन्थे । “बरु मर्छु ,सबै सत्य बाहिरै निकालेर मर्छु ।” भन्ने शब्दले मलाई सताइरहन्थ्यो।यी शब्दहरूमा केही न केही रहस्य छ जस्तो लाग्थ्यो । म यी शब्दहरूमाथिको सत्य जान्न चाहन्थे।यसरी लुक्दै लुक्दै बाचेको जिन्दगीदेखि म पक्राउ परे । र यस कारागारमा आफ्नै दिदीको हत्याको आरोपमा आए ।

अब मैले आफूमाथि लागेको दाग धुनु छ। बा’लाई बुझाउनु छु सत्य कुरा ।चिनाउनुछ,दिदीको हत्यारा।सजाय दिनुछ दिदीको असली हत्यारालाई जो खुलेआम हिँडिरहन्छ तर कानुनले देख्दैन।के मलाई मेरो यो असत्य विरुद्धको लडाइमा साथ दिने कोही साथी निस्केलान् ?

उसको डायरी पढेपछि मन भुर्लुक्क भुर्लुक्क उम्लिएर आयो।आँखाबाट केही आशुहरूले हाम पनि फाले । आफूले ऊप्रति गरेको घृणित काम सम्झेर आफू प्रहरी भएकोमा पहिलो पटक हीनताबोध भयो ।सोचे,भेटेर माफी माग्छु । अनि उसको त्यो लडाइमा साथ दिन्छु । तर म धेरै ढिलो भैसकेको थिए। मलाई रिँगटा लाग्यो।ढल्छु कि जस्तो लाग्यो । मैले अफु तौल विहीन भएको महसुस गरे । टिभीमा समाचार आइरहेको थियो,
“दिदीको हत्याको आरोपमा पक्राउ परेका सुमन थापाले आत्महत्या गरेका छन् । जसले केहिसमय अगाडि मात्रै आफ्नो दिदीको हत्याको आरोप स्वीकार गरेको थियो।”

(निस्दी-०६,पाल्पा)

(यस हिमाल पोस्ट डटकमबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘हिमाल पोस्ट डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकोले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, विना अनुमति हाम्रा सामग्री प्रयोग गरेमा विद्युतिय ऐन अन्र्तगत कानुनी दायरामा जान हामी बाध्य हुने छौ ।)