चार वर्षे बालक भन्छन् – म पूर्व जन्मको लेडी डायना हुँ !
हिमालपोस्ट/काठमाडौँ-
(एजेन्सी)
बच्चाहरूले निकै अचम्मको कुरा गर्छन् तर विगत दुई वर्षदेखि एक बालकले आफ्ना आमाबुवासँग यस्तो कुरा गरिरहेका छन् जसले उनीहरूलाई अशान्त बनाइरहेको छ।
अस्ट्रेलियाका टिभी प्रस्तोता डेभिड क्याम्पबेलअनुसार उनका चार वर्षका छोरा बिलीले आफू दिवङ्गत राजकुमारी डायनाको पुनर्जन्म भएको र उनको जीवनबारे पनि थाहा भएको दाबी गरिरहेका छन्।
तीन सन्तानका ४५ वर्षे बुवाले स्टेलर म्यागजिनको स्तम्भमा लेखेको लेखलाई अहिलेसम्मको अचम्मको लेखको संज्ञा दिएका छन्।
उनका अनुसार उनका कान्छा छोराले दुई वर्षको हुँदा डायनाको फोटो भएको एउटा कार्ड देखाउँदै भने, ‘हेर त, म राजकुमारी हुँदाको मेरो फोटो।’
राजपरिवारबारे केही कुरा नसिकाइकनै पनि बिल्लीको अचम्मको कुरा नरोकिएको डेभिडले बताए। डेभिडका अनुसार उनका छोराले एकपटक आफ्नो जोन नामको दाइ भएको पनि बताए। जोन राजकुमारी डायनाका दाइ हुन् जसको डायनाको जन्म अगावै मृत्यु भएको थियो। त्यसको केही दिन पछि उनले आफ्ना दुई ‘केटा’ भएको पनि बताए। ‘केटा’ हरूको नाम उनले विलियम्स र ह्यारी बताए।
‘उनले आफ्ना दुई ‘केटा’ बारे कुरा गर्न थाले,’ डेभिडले सम्झिए। ‘जब उनलाई को केटा बारे कुरा गरिरहेको भनेर सोधियो तब त्यतिबेला तीन वर्षका मेरा छोराले मेरा ‘छोराहरू’ भने।’
यसका साथै, डेभिडका कान्छा छोराले बाल्मोरलबारे पनि स्पष्ट जानकारी दिएका थिए। बाल्मोरल रानीको मनपर्ने निवास हो। उनले उक्त निवास आफ्नै आँखाले नदेखेपनि कस्तो छ भनेर जानकारी दिएको डेभिडले दाबी गरे।
‘उनले हाम्रो स्कटल्यान्डका साथीलाई आफू राजकुमारी डायना हुँदा उक्त महलमा जाने गरेको र त्यहाँ युनिकर्न भएको र त्यसलाई बाल्मोरल भन्ने गरेको बताए,’ उनका बुवाले भने।
‘स्कटल्यान्डको राष्ट्रिय जनावर युनिकर्न हो र उक्त महलको भित्तामा युनिकर्न भएको उसलाई कसरी थाहा भयो ?’
ती बालकले हालै एउटा कमेन्ट गरेका छन् जसमा उनले डायनाको मृत्युबारे बताएका छन्।
‘लिसाले उनलाई डायनाको अर्को फोटो देखाइन्,’ डेभिडले थपे। ‘म राजकुमारीको रूपमा। त्यसपछि एकदिन साइरन आयो र म त्यसपछि राजकुमारी रहिनँ।’
राजकुमारी डायनाको राजकुमार चार्ल्ससँग सन् १९८१ मा विवाह भयो। यी दुईका दुई सन्तान छन् – विलियम्स र ह्यारी।
दुर्भाग्यवश, डायनाको सन् १९९७ को अगस्ट ३१ तारिखमा पेरिसमा कार दुर्घटनामा निधन भयो।
-0-