धुर्मुस-सुन्तली विरूद्ध स्थानीय आन्दोलित - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

धुर्मुस-सुन्तली विरूद्ध स्थानीय आन्दोलित



भरतपुर –  स्थानीय गाउँलेहरूको माग पूरा गर्न ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले सोझै अस्वीकार गरेको छ।

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’;  स्थानीय नागरिक, पाँचओटा टोल सुधार समितिका प्रतिनिधिहरूको बैठक शुक्रबार राति आठ बजेसम्म ‘धुर्मुस–सुन्तली फाउन्डेसन’को कार्यालय रामपुरमा बसेको थियो।

बैठकमा धेरै विषयहरू समेटिएको थियो। तर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धेरै पटक यो परियोजना अगाडि बढाउन नसक्ने भएकाले छाड्छौँ भनेका थिए।

सो बैठकमा स्थानीयहरूले तेर्स्याएको माग यस्तो थियो –

  • पक्राउ परेका प्रकाश कँडेल र अन्यको बिनासर्त रिहाई गर्नुपर्ने
  • सामाजिक सञ्जाल र मिडियामा संविधान र कानुनले निषेध गरेका अभिव्यक्ति दिएकोमा धुर्मुस र सुन्तलीले माफी माग्नुपर्ने
  • स्थानीय जनतालाई विकास विरोधी देखाइएकामा क्षमा माग्नु पर्ने,
  • रङ्गशाला निर्माणको सुनिश्चितता हुनुपर्ने,
  • बाटो विस्तारमा स्थानीयको घर जग्गा कटान नहुने सुनिश्चितता हुनुपर्ने
  • यी सर्तहरू पूरा भएमा आफूहरूले रङ्गशाला बनाउन जनश्रमदान गर्ने

‘धुर्मुस’ र ‘सुन्तली’ले स्थानीयको सबै माग अस्वीकार गरेको बैठकमा सहभागी स्थानीयले जानकारी दिएका छन् । शुक्रबारको बैठकमा सहमति नभएपछि शनिबार पाँचओटै टोल विकास समितिको बैठक बसेर आइतबारदेखि वडा कार्यालय घेराउ गर्ने निर्णय भएको स्थानीय समाजसेवी सन्तोष बस्ताकोटीले जानकारी दिए ।

‘धुर्मुस’ र ‘सुन्तली’ले गाउँलेहरूको मागलाई अस्वीकार गरेपछि पीडित स्थानीयहरूले आइतबार बिहानैदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १६ को कार्यालय घेराउ गरेका छन् र समस्याको समाधान निकाल्न दबाब दिएका छन् ।

चितवनमा भने जति रकम सङ्कलन नभएपछि आत्तिएका ‘धुर्मुस’ र ‘सुन्तली’ले बार भत्काएको घटनालाई देखाएर रङ्गशाला नबनाउने बहाना बनाएको स्थानीयले बताए ।

‘धुर्मुस’ र ‘सुन्तली’ले नै  यस घटनालाई ठूलो बनाउनुभएको छ । नहुनुपर्ने घटना घटिहाल्यो । समस्याको समाधान खोज्‍नुपर्नेमा अझ चम्काएको स्थानीयको आरोप छ।

सडक बनाउने विवाद सुरुदेखिकै भए पनि ‘धुर्मुस’ र ‘सुन्तली’ तथा भरतपुरकी मेयर रेणु दाहालले समाधानका लागि कुनै पहल नगरेको स्थानीयले बताए ।

रङ्गशाला बनाउन भनेर वन विज्ञान तथा कृषि क्याम्पसको बीस बिघाभन्दा धेरै जमिन लिएको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले अघोषित रूपमा क्याम्पसको अरू छ बिघा जमिन अतिक्रमण गरेको छ ।

कृषि पढाइ हुने एक मात्रै कृषि विश्वविद्यालयलाई समस्यामा पारेर रङ्गशाला बनाउन खोजिएकोमा पनि स्थानीयहरू क्रोधित छन् ।

रङ्गशाला निर्माणस्थलको वरिपरि एक किलोमिटरको क्षेत्र समेत प्रभावित हुने स्थानीको गुनासो छ।