सर्वोच्चले भन्यो: ढुंगेललाई माफी किन ? २४ घन्टाभित्र जवाफ चाहियो ! - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सर्वोच्चले भन्यो: ढुंगेललाई माफी किन ? २४ घन्टाभित्र जवाफ चाहियो !



काठमाडौं– तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने र बाँकी कैद मिनाहा गर्दै रिहा गर्ने तयारी गर्दै गर्दा सर्वोच्च अदालतले २४ घण्टे स्पष्टिकरण मागेको छ । सरकारले ढुंगेललाई माफी दिने  तयारी गरिरहेको थियो ।

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका  ढुंगेललाई माफी दिने सम्बन्धमा विषयमा जानकारी गराउन आदेश गरेको छ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढुंगेललाई माफी दिनुको कारणसहित २४ घन्टाभित्र अदालत उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको हो। सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएका व्यक्तिलाई गणतन्त्र दिवसको दिन माफी दिनुको कारण लिखित रुपमा पेस गर्नसमेत भनेको छ।

सर्वोच्चले आइतबार कैद माफी दिनुपर्ने वा नपर्ने विषयमा थप छलफल गर्न सरकारी पक्षलाई समेत अदालत उपस्थित भई जानकारी गराउन भनेको छ।

ढुंगेललाई जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध सर्वोच्चमा अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। बिहीबार अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो।