रमेश खरेलको विश्वासपात्र, ‘इन्काउन्टर स्पेसलिस्ट’ ढुङ्गेलको के हो काण्ड ? - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

रमेश खरेलको विश्वासपात्र, ‘इन्काउन्टर स्पेसलिस्ट’ ढुङ्गेलको के हो काण्ड ?



नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

रानीबारीमा भएको एक डकैती काण्डमा पक्राउ परेका एक अभियुक्त र डीएसपी ढुंगेलबीच लामो कुराकानी भएको पत्ता लागेपछि प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्वन गरेको थियो।

गत चैत २६ गते रानीबारीमा भएको डकैती काण्डमा समातिएका विकास श्रेष्ठ र ढुंगेलबीच दर्जनौंपटक फोन संवाद भएको तथा केही शंकास्पद कुराकानीसमेत भएको प्रहरी प्रधान कार्यालयले फेला पारेपछि ढुंगेल निलम्वनमा परेका थिए।

उनीविरुद्ध डाँका मुद्दामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालतलाई पटक–पटक ताकेता गरेको भए पनि ७ महिनापछि मात्रै पक्राउ पुर्जी जारी भएको छ।
पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि ढुंगेल फरार छन्।

उनी नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टका रूपमा लामो समयसम्म चर्चामा रहेका थिए। नेपालका चर्चित डन दिनेश अधिकारी (चरी) को इन्काउन्टर डीएसपी ढुंगेलले नै गराएका थिए। उनी अन्य डनलाई समेत पक्राउ गरेर चर्चामा आएका थिए।

पूर्वडीआईजी रमेश खरेलको विश्वासपात्रका रूपमा रहेर काम गरेका ढुंगेलको पछिल्लो गतिविधि शंकास्पद रहँदै र संगठनका केही उच्च अधिकारीलाई धावा बोल्दै आएका एक प्रहरी स्रोतले बतायो।