धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने रहर छ :प्रम ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने रहर भएको बताएका छन् । बिहीबार धरहराको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने विश्वास पनि व्यक्त गरे ।
‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ’, ओलीले भने, ‘यसपटक धरहराको टुप्पोमा जवानहरू मात्रै होइन बुढापाकाले पनि चढ्न सक्नेछन्, पहिलाको धरहरामा म आफैँ चढ्न पनि समस्या परेको थियो ।’
धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने उनले बताए । उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको पनि बताए । ओलीले अब बन्ने धरहरामा जामको समस्या पनि नहुने बताए ।
‘धरहरा आउँदा पहिला जामको समस्या थियो अव त्यो समस्या पनि हुँदैन । धरहराको आफ्नै पार्किङको व्यवस्था समेत गरिन्छ’ ओलीले भने, ‘२०७२ फागुनमा मैले मै बनाउँछु मेरो धरहरा भन्ने अभियान सुरु गरेको थिएँ तर, त्यो अभियान प्रभावकारी हुन सकेन । अब पुरा हुन्छ ।’ उनले सरकारले राम्रा काम गरिहरेको भन्दै राम्रा कामको सबैले सहयोग गर्नुपर्ने पनि बताए ।
आफूले सोचेको जस्तो धरहरा बनाउनमा ठूलै चुनौती रहेको र त्यसको समाधानका लागि सबैको सहयोग आवश्यक रहेको पनि प्रधानमन्त्री ओलीले सुनाए । धरहरा निर्माणका लागि धेरै विज्ञसँग पनि छलफल गरेर यस्तो निर्णय गरिएको उनले बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका मुख्य कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई वर्षमा धरहरा पुनर्निर्माण सम्पन्न गरिसक्ने बताए । देशैभर पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने बताउँदै उनले व्यक्तिको घर निर्माण कार्य यसवर्ष ७७५ सम्पन्न हुने बताए ।
यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पर्वहरु, ऐतिहासिक बाटोहरु नमासिनेगरी धरहरा पुनर्निर्माण कार्य अगाडि बढेको भन्दै धरहरा निर्माणलाई अगाडि बढाउन संस्थागत तथा व्यक्तिगत रूपमा मुद्दा खेपेर भएपछि पुनर्निर्माण अगाडि बढाएको बताए । तर राम्रा कामका निम्ति काम अगाडि बढाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री मात्रिका यादव, पर्यटनमनत्री रविन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
धरहरा बनाउन सरकारले २९ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिनेछन् । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । विक्रम्सम्बत १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तला बनाइएको थियो । धरहरा २०७२ सालको भूकम्पमा भत्किएको थियो ।
०७२ मा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउमा २२ तले नयाँ धरहरा निर्माण हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणको जिम्मेवारी लिएको छ ।