एमाले जस्तो झुठो बोल्दिन, मेरो क्षेत्रको मुहार फेर्छु- धनेन्द्र कार्की - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

एमाले जस्तो झुठो बोल्दिन, मेरो क्षेत्रको मुहार फेर्छु- धनेन्द्र कार्की



गुल्मी क्षेत्र नम्बर १ (ख) का उम्मेदवार धनेन्द्र कार्कीले आफूहरूले एमालेले जस्तो झुठो कुरा नगर्ने काम गरेर देखाउने बताएका छन् । चुनावी कार्यक्रमको दौरान उनले जनतालाई गुमराहमा राख्ने, भ्रममा पार्ने काम आफूहरूको नभएको बताए ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका कार्कीले घर-घरमा भोट माग्न आउने हरेक उम्मेदवारलाई किन र के का लागि भोट दिने ? भनेर सोध्न मतदातालाई आग्रह समेत गरे । एमालेले अनेक तिगडम गरेर सत्तामा पुग्ने, त्यसपछि कहिले संसद विघटन गर्ने, कहिले पार्टी विघटन गर्ने मात्रै काम गरेकाले विकाश र समृद्धिका लागि अहिलेको गठबन्धन र नेपाली कांग्रेसलाई मत दिनुपर्ने बताए ।

आफ्नो क्षेत्रमा २०/२५ वर्षदेखि एमालेका एक जना नेताले मात्रै जितेपनि गाउँ यहाँका लागि केहि नगरेको कार्कीको टिप्पणी थियो । कार्कीले भने, ‘हामीले सधै जिताएर पठाएका नेताहरूले गाउँ र यस क्षेत्रका जनतालाई मजाक बनाए । उनीहरूले चुनावको बेला मात्रै यहाँ आएर अनेक प्रलोभन देखाउने जित्ने, जितेपछि फर्केर नहेर्ने बानी परिसकेकाले कहिलै सुध्रिन सक्दैनन् ।’ उनले थपे, ‘यतिका समयसम्म नसुध्रिने नेता अब कसरी सुध्रिन्छन् ?’

कार्कीले फेरि एमालेलाई भोट दियो भने पछुताउने बाहेक अरू विकल्प नहुने भन्दै यसपटक आफूहरू काम गर्नको लागि आएकोले विश्वास गर्न बताए । यसअघिको निर्वाचनमा पनि यसै कक्षेत्रबाट उठेर आफू पराजित भएपनि लगातार जनताको सम्पर्कमा रहेको बताए । उनले पराजित भएपनि विकाशका काममा आफूले धेरै भन्दा धेरै पहल गरेको स्मरण गराए ।

कार्कीले आफूसँग युवाहरूलाई स्वरोजगार बनाउनेदेखि गाउँलाई समृद्ध बनाउने योजनासाथ आएकाले पाँच वर्षमा आफ्नो क्षेत्रको मुहार फेर्ने दाबी गरे । आफूले चुनाव जितेपछि जनताले गुनासो गर्नु नपर्नेगरी काम गर्ने बताए । उनले आफ्नो क्षेत्रका मतदाताको शिर झुक्न नदिने बाचा समेत गरे ।