दुर्गा प्रसाईं काण्डले ढाकाकुमारको सांसद पद चैट - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

दुर्गा प्रसाईं काण्डले ढाकाकुमारको सांसद पद चैट



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठको सांसद पद गएको हो।

रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको छ। बैठकपछि सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका छन्।

गत आइतबार श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई दिनका लागि पैसा चाहिने भन्दै प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो। त्यसपछि रास्वपाले श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो भने छानबिन गर्न समिति बनाएको थियो।

समितिले मंगलबार श्रेष्ठको बयान लिएको थियो र अडियो श्रेष्ठकै भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

अब रास्वपाले संसद सचिवालयलाई पत्राचार गरेपछि श्रेष्ठ ‌औपचारिक रुपमा पदमुक्त हुन्छन्। श्रेष्ठको ठाउँमा रास्वपाले अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ। गत मंसिर ४ मा भएको चुनावबाट समानुपातिकतर्फ रास्वपाका १४ जना सांसद निर्वाचित भएका थिए।

श्रेष्ठको ठाउँमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउने निर्णय पनि रास्वपाले गरेको छ। कंशाकार एसिड पीडित हुन् र उनी यही क्षेत्रमा काम गरिरहेकी छिन्।