के देवेन्द्र पौडेलकी छोरी गरिमाले अमेरिकामा पढ्नु अपराध हो ? - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

के देवेन्द्र पौडेलकी छोरी गरिमाले अमेरिकामा पढ्नु अपराध हो ?



नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेकै बेला सामाजिक सञ्जालमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र उनकी छोरी गरीमा पौडेलको तस्वीर भाइरल भएको छ ।

बिहीवार पौडेलले अमेरिकाबाट विदामा आएकी आफ्नी छोरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्दै गर्दाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

उक्त तस्वीर यसकारणले पनि महत्त्वपूर्ण भइदियो कि महाधिवेशनको बन्द सत्रमा माओवादी केन्द्रका नेताहरूका छोराछोरी सरकारी स्कूलमा पढ्नुपर्ने माग उठेको थियो ।

त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजमाथि हुँदै गरेको छलफलमा नेताहरूको अस्वाभाविक जीवनशैलीमाथि पनि आलोचना गरिएको थियो । अझ ठूलो कुरा त के हो भने प्रचण्डले आफ्नो दस्तावेजमा अमेरिकामाथि चोटिलो आरोप लगाएका छन् भने चीनमाथि नरम भाषा प्रयोग गरेका छन् ।

महाधिवेशनमा यस्तो बहस चलिरहँदा पौडेल भने आफ्नी छोरीलाई अमेरिका पठाउन अन्तर्राष्ट्रिय विमानस्थल पुगे र तस्वीर सामाजिक सञ्जालमासमेत सेयर गरे ।

यही कारणले तस्वीरमाथिको चर्चा बढिरहेको छ । माओवादी विरोधीहरूले पौडेलको त्यही तस्वीरलाई लिएर समाजवादमाथि व्यंग्य गरेका छन् ।

तर प्रश्न उठ्छ के उच्च शिक्षाका लागि कोही पनि किन विदेश जानु हुँदैन ? अझ गरिमा त अमेरिकाको भर्जिनियामै बस्छिन् । उनी छुट्टीमा आएकी हुन् र पुनः अमेरिका जान लाग्दा आफ्ना बाबु बिदाइ गर्न गएका हुन् ।

कतिपयले माओवादी पार्टीको नेता हुँदैमा गरीब हुनुपर्छ र भन्दै पौडेलको पक्षमा प्रतिक्रिया दिएका छन् । माओवादी नेताहरूको सम्पत्तिको छानबिन गर्नुपर्ने चर्चा चलिरहेका बेला सार्वजनिक भएको तस्वीरले कतिपय गरीब नेता कार्यकर्ताहरूलाई झस्काएको पनि छ ।

महाधिवेशनमा प्रचण्डको दस्तावेजमाथि छलफल चलिरहेकै बेला प्रचण्डका नाति महिनाको ५० हजार फी तिरेर देशकै महँगो स्कूल युलेन्समा पढिरहेको विषयसमेत सामाजिक सञ्जालमा गसिपको विषय बनेको छ ।

नेताका छोराछोरीहरूले सरकारी स्कूल पढ्नुपर्ने कुरा सैद्धान्तिक हिसाबले समाजवाद उन्मुख देखिएपनि व्यावहारिक हिसाबले भने आजको युगसम्मत छैन ।

पंचायतकाल र राणाकालमा समेत तत्कालीन राजा र मन्त्रीहरूले देशको पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायत कुरामा टेवा पुग्ने भन्दै धेरै नेपालीहरूलाई विदेश पढ्न पठाएको इतिहास नेपालमा छ । त्यसैको निरन्तरतास्वरूप अहिले शैक्षिक छात्रवृत्ति सरकारले नै दिने गरेको छ ।

माओवादी केन्द्रका नेताहरूमध्ये कतिपयले अकूत सम्पत्ति कमाएका हुन सक्छन् । त्यो सम्पत्तिको छानबिन हुनुपर्छ भन्नु एउटा कुरा हो भने छोराछोरीलाई आफ्नो गाउँमै राख्नुपर्छ, राजनीतिमै हिँडाउनुपर्छ भन्ने सोच भने आजको युगअनुकूल देखिन्न ।