शिक्षामन्त्री देवेन्द्र पौडेललाई कसले दियो दवाव ? - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कसले दियो दवाव ?



काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवावहरु आफूमाथि आउने गरेको खुलासा गरेका छन् । मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दापनि ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दवाव आउने गरेको बताएका हुन् ।

सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उनले आफूले ती राजनीतिक दवावहरुलाई पदमा रहन्जेल प्राथमिकता नदिने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री पौडेलले आफ्नो पहिलो पहलकदमी सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने योजना पनि सार्वजनिक गरे ।

उनले निजी क्षेत्रको नियमन गर्ने र प्राविधिक शिक्षालाई परिणाममुखि बनाउन समेत आफू लागिपर्ने बताए । मन्त्री पौडेलले भने, ‘पोलिटिकल प्रेसर पनि शिक्षा प्रणाली सुधार्नेभन्दा ठूल्ठूला वरिष्ठ व्यक्ति र व्यक्तित्वहरुको चाहना बढि भएको आउँछ । बोलायो, दौडदै गयो । केही कुरा भन्नु हुन्छ कि भन्यो, चाहना अर्के छ । तर मैले तपाईँहरुलाई के प्रतिवद्धता व्यक्त गर्दछु भने ती म यो पदमा रहुन्जेल प्राथमिकताका विषय हुँदैनन् । यति भनेपछि बुझ्ने भयो नि । अहिले मेरो प्राथमिकताको विषय भनेको सार्वजनिक शिक्षालाई म यहाँ रहँदासम्म सुधार गर्ने, अगाडि बढाउने । निजी क्षेत्रको बारेमा सरकारले नै पोलिसी ल्याएको हुनाले निजी क्षेत्रलाई पनि नियमन गर्ने र सँगै लिएर जाने । उसलाई नीति दिने, नियमन गर्ने । सार्वजनिकलाई सुधार गर्न जोड दिन पहलकदमी गर्ने हाम्रो जोड हुनेछ ।’

मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै : पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भईरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे । छलफलमा सत्तारुढ दलमा आवद्ध नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभावी शुल्क विद्यार्थीहरुबाट असुली रहेको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराउनु भएको थियो भने अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखि बनाउनुपर्नेमा जोड दिन आग्रह गरेका थिए ।

मन्त्री पौडेलसँगको भेटमा सत्तारुढ दलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका सुर्य पौडेललगायतका नेताहरु सहभागी भएका थिए ।