वाम एकताको प्रस्ताव गरेका देव गुरुङले एकाएक बोली फेरे
नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ। चुनाव हारेलगत्तै एमालेका नेतासँग वाम गठबन्धन गर्ने प्रस्ताव लिएर गएका माओवादी केन्द्रका महासचिव देव गुरुङ समेत अहिलेकै गठबन्धनको पक्षमा उभिएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्नु नहुने निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का महासचिव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताए।
गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको भन्दै उनले आफूहरू गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उल्लेख गरे। उनले पार्टीले गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे। सोमवार गठबन्धनको बैठक बस्नेबारे जानकारी दिँदै उनले सो बैठकमा निर्वाचनको समीक्षा गर्ने र अगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताए।
‘सरकार गठनका बारेमा उल्लेखनीय रूपमा विषय प्रवेश भएको छैन। पहिलो कुरा अहिले गठबन्धनमा भएको हुनाले गठबन्धनका घटकहरू बिचमा कुराकानी हुने कुरा स्वतः भइहाल्यो। गठबन्धनका घटकहरूले कसरी सोचिराखेको छ भन्ने कुरा पनि हुने भयो। त्यस कारणले गर्दा खेरी अहिले गठबन्धन नै मुख्य रूपमा रहेको हुनाले गठबन्धनकै प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको हुनाले गठबन्धनमै रहेर सोच्न कुरा त स्वाभाविक प्रक्रिया नै भयो।
त्यस कारणले छिट्टै गठबन्धनको बैठक बस्नुपर्छ भन्ने कुरा भएको छ। भोलि नै गठबन्धनको बैठक बस्नुपर्छ। र, गठबन्धनको बैठक बसेर निर्वाचनसँग जोडिएका कतिपय सीमाहरूको, कतिपय कमीकमजोरीहरू पनि हुनसक्छ। त्यसको पनि समीक्षा गरौँ र त्यसपछि कसरी अगाडी बढ्ने सोचहरू बनेको छ भन्ने विषयमा पनि मोटामोटी रूपले छलफल गरौँ भनेर भोलि गठबन्धनको पनि आयोजना भएको छ। सरकार गठनको विकल्पहरूको बारेमा कुराकानी सुरु भएकै छैन।
त्यस्तो कुराकानी भएकै छैन। हामी गठबन्धनमा भएको हुनाले पहिलो कुरा त गठबन्धनमा आधारित भएर सोच्ने कुरा भयो नि। अहिले गठबन्धनमै भएको हुनाले गठबन्धनमा कुनै विमति पैदा भएर, कुनै असहमति पैदा भइसकेको अवस्था त होइन। गठबन्धन तोड्नुपर्छ। फेर्नुपर्छ भन्ने कुरामा पुगेको अवस्था होइन अहिले। पहिलो कुरा गठबन्धनमा रहूँ। गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को कोसँग कुरा गर्ने, गठबन्धनमा अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन्। त्यो त गठबन्धनमा निर्भर रहने विषय भयो। त्यसो भएको हुनाले अहिले पार्टीले गठबन्धनको विकल्प तुरुन्तै सोचिसकेको अवस्था होइन।’ उनले भने
महासचिव गुरुङले नेकपा (एमाले) सँग गठबन्धन गर्ने सम्बन्धमा छलफल नभएको बताए। उनले एमालेसँग पनि कुनै प्रकारको कुराकानी नभएको स्पष्ट पारे। माओवादी केन्द्रले सरकार गठनको लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उनले बताए।
‘एमालेसँग गठबन्धन गर्ने कुरा विषय प्रवेश नै भएको छैन। त्यस्तो केही कुराकानी नै भएको छैन कुनै पनि प्रकारको। ‘ उनले भने।
‘अहिले त गठबन्धनमै रहेको हुनाले विकल्पको बारेमा त्यस्तो कुनै कुराकानी भएको छैन। गठबन्धनको विकल्पको बारेमा अहिले खासै कुरा सुरु भएको छैन। अहिले गठबन्धन नै भएको हुनाले गठबन्धनबाट नै पहिलो प्रयास त्यही हुने कुरा स्वतः भइहाल्यो नि। भोलि गठबन्धनको बैठक पनि आयोजना भएको छ। त्यस कारण मूलभूत रूपमा यिनै कुराहरू रहेका छन्। एमालेसँगको गठबन्धनको विषयमा भने विषय प्रवेश नै भएको छैन। अहिले त गठबन्धनमै रहेको हुनाले विकल्पको बारेमा त्यस्तो कुनै कुराकानी भएको छैन। गठबन्धनको विकल्पको बारेमा अहिले खासै कुरा सुरु भएको छैन। अहिले गठबन्धन नै भएको हुनाले त्यहीबाट सुरु हुने कुरा स्वाभाविक भइहाल्यो नि।’ उनले भने।
महासचिव गुरुङले निर्वाचन परिणाम अपेक्षा गरे अनुरूप नआए पनि सफल र परिणाममुखी नै भएको बताए। निर्वाचन परिणामलाई स्विकार्दै र कमी, कमजोरीहरूलाई सुधार्दै पार्टीलाई सुदृढ बनाउँदै अघि बढाउने बैठकको निष्कर्ष रहेको उनको भनाई छ।