देउवाले साइड लगाएका दुई डाक्टर - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

देउवाले साइड लगाएका दुई डाक्टर



काठमाडौं- १४औँ महाधिवेशनमा सभापतिमा विजयी भएका शेरबहादुर देउवाले पटकपटक केन्द्रीय समितिमा सदस्यहरू मनोनयन गर्ने काम जारी राखेका छन्। निर्वाचित भएको प्रमाणपत्र पाएकै दिन नयाँ कार्यसमितिको बैठक बसेपछि सभापति देउवाले केन्द्रीय समितिमा दुई पटक मनोनयन गरेका हुन्।

शनिबार र आइतबार गरी दुई पटकमा देउवाले १३ जनालाई केन्द्रीय समितिमा मनोनयन गरिसकेका छन्। देउवाले हालसम्म मनोनित गरेका सदस्यमा अधिकांश कांग्रेस पदाधिकारीका लागि भएको निर्वाचनमा हारेका नेताहरू समेटिएका छन्।

शनिबार पहिलोपक देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्कालाई मनोनित गरेका थिए। यस्तै उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई पनि देउवाले शनिबार नै केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका थिए।

सोमबार भने नेता कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनकुमार शाहीलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्।

१४औँ महाधिवेशनमा कांग्रेस पदाधिकारीमा चुनाव लडेका थुप्रै नेतालाई देउवाले केन्द्रीय समिति सदस्यमा मनोनयन गरिरहेका छन्। हालसम्म १३ जना नेताहरू केन्द्रीय सदस्यमा ल्याइँदा पनि महामन्त्रीमा चुनाव लडेका डा मीनेन्द्र रिजाल र उपसभापतिमा चुनाव लडेका डा चन्द्र भण्डारीलाई देउवाले समेटेका छैनन्।

शेखर प्यानलबाट पदाधिकारीमा चुनाव लडेर पराजित भएका नेताहरूलाई देउवालाई केन्द्रीय समितिमा मनोनयन गर्न अनिच्छा प्रकट गरेको देखिएको छ। देउवा प्यानलबाट पदाधिकारीमा चुनाव लडेर हारेका सबै नेता केन्द्रीय समितिमा समेटिइसक्दा पनि देउवाले शेखर प्यानललाई भने किनारा पार्ने संकेत गरेका हुन्। सभापतिका निकटतम प्रतिस्पर्धी भने स्वतः केन्द्रीय सदस्य बन्ने व्यवस्था छ। यही व्यवस्था अनुसार कोइराला केन्द्रीय सदस्य बनेका हुन्।

उपसभापतिका लागि चुनाव लडेर पराजित भएका सुजाता कोइराला र विजयकुमार गच्छदारसमेत केन्द्रीय समितिमा अटाइसकेका छन्। उपसभापतिमा ६४४ मत ल्याउने सुजाता समेत मनोनित भइसक्दा १५८० मत ल्याएका भण्डारी भने किनारामा परेका हुन्। यस्तै उपसभापतिमा महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका थिए। ७ उम्मेदवारमध्ये २१२१ मत पाएर पूर्णबहादुर खड्का र १९०८ मत प्राप्त धनराज गुरुङ विजयी भए।

शेखर प्यानलका मीनेन्द्रले महामन्त्रीमा ८०९ मत प्राप्त गरेका थिए। महामन्त्रीमा सर्वाधिक बढी मत प्राप्त गर्ने दुई जना विजयी हुने कांग्रेस विधानको व्यवस्था अनुसार विश्वप्रकाश शर्मा र गगन थापा विजयी भएका हुन्। पराजित हुनेमध्ये डा प्रकाशशरण र प्रदीप पौडेल पनि केन्द्रीय समितिमा समेटिइसकेका छन्।

डा शेखर कोइरालाले आफूले भाग नखोज्ने बताएकाले पनि केन्द्रीय समितिमा जोसुकै ल्याएपनि दबाब नपर्ने देउवाको बुझाइ भएको हुन सक्ने कांग्रेसका एक नेताले बताए। विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने विषयलाई खरो रूपमा उठाउने बताएको डा कोइराला प्यानलको स्वर मन्द भएकै बेला सभापति देउवाले मनोनयनलाई प्राथमिकतामा राखेका हुन सक्ने ती नेताले बताए। ‘केन्द्रीय समितिमा समावेशी आधारमा मनोनयन गर्नुपर्ने हो। तर त्यसलाई सभापतिले बेवास्ता गरेको देखिएको छ,’ ती नेताले भने, ‘महाधिवेशन र विधानको मर्मअनुसार मनोनयन भएन।’ देउवालाई ३३ जना सदस्य मनोनयन गर्ने वैधानिक अधिकार छ।

उता आफ्नै गुट व्यवस्थापन गर्न नसकेपछि चुनावी प्रक्रियाबाट बाहिरिएका रामचन्द्र पौडेलले गत महाधिवेशनमा मतदान प्रक्रियालाई समेत बहिष्कार गरेका थिए। शनिबार उनी केन्द्रीय सदस्यमा मनोनित भइसकेका छन्। सिंह र निधि पहिलो चरणको सभापतिको निर्वाचनमा देउवाविरुद्ध नै चुनावी मैदानमा थिए। गच्छदार उपसभापतिमा २ मतले पराजित नेता हुन्। यस्तै सिटौलाले पहिलो चरणभन्दा पहिलेदेखि नै देउवालाई दोहोर्‍याउनका लागि वातावरण बनाउन पहल गरेका थिए।

यसैगरी परराष्ट्रमन्त्री रहेका खड्काले भने उपसभापतिमा इच्छाप्रकट गरेपनि पछि उनी केन्द्रीय सदस्यका लागि पनि चुनाव लडेका थिएनन्। उता सुजाता भने उपसभापतिमा पराजित भएकी नेतृ हुन्।

आइतबार केन्द्रीय समिति सदस्यमा मनोनित हुने कल्याण सभापतिका लागि भएको पहिलो चरणको मतपरिणामबाट बाहिरिएका नेता हुन्। उनले सभापतिका लागि भएको निर्वाचनमा २० मत प्राप्त गरेका थिए। कांग्रेस सभापतिका भएको निर्वाचनमा सबैभन्दा कम मत ल्याएका उनी सबैभन्दा कम उमेरका कांग्रेस सभापतिका उम्मेदवार थिए। दोस्रो चरणका लागि भएको कांग्रेस सभापितको निर्वाचनमा उनले देउवालाई समर्थन गरेका थिए।

कांग्रेस सभापतिको पहिलो चरणको मतअनुसार तेस्रो र चौथो स्थानका उम्मेदवारहरू क्रमशः प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि दोस्रो चरणमा देउवालाई नै समर्थन गरेका थिए। पहिलो चरणमा कांग्रेस सभापतिका लागि ५ जना उम्मेदवार थिए। पहिलो चरणमा कुनै पनि उम्मेवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्न नसके बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा मतदान गर्ने व्यवस्था कांग्रेसमा छ। दोस्रो चरणको निर्वाचनबाट करिब ६० प्रतिशत मतसहित देउवा सभापतिमा चुनिएका हुन्।

केन्द्रीय समितिमा मनोनित भएका शाही कर्णालीका मुख्यमन्त्रीसमेत हुन्। शाही पिछडिएको क्षेत्रको क्लस्टरमा शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका थिए।

यस्तै प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार थिए। दुई जना महामन्त्री हुने व्यवस्था भएको कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए। महामन्त्रीका लागि प्रतिस्पर्धा गरेका डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल र प्रदीप पौडेल र डा राजाराम कार्की भने पराजित भएका थिए।

सिटौला खेमाका पौडेललाई देउवा समूहले उम्मेदवार बनाएपनि उनी निर्वाचित हुन नसकेका नेता हुन्।