देउवाले भने अब आन्दोलन घोषणा गर्नु पर्छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देउवाले भने अब आन्दोलन घोषणा गर्नु पर्छ



काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसका शीर्ष नेताहरुले सरकारका निर्णय र गतिविधि संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि विरुद्ध देखिएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन ।

नेपाल कम्यूनिष्ट पार्टीका शीर्ष नेताहरुबाटै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरीरहेका बेला कांग्रेसले त्यसलाई लोकतान्त्रिक गणतन्त्रमाथिको खतराका रुपमा लिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ अधिवेशनको मंगलबार भएको उद्घाटन सत्रमा नेताहरुले कांग्रेसलाई एक्ल्याएर कम्यूनिष्ट शासन लाद्न खोजिएको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने दिशामा प्रधानमन्त्री केपी ओली लागेको भन्दै त्यसबिरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।

‘यो सरकारविरुद्ध चाडै नै आन्दोलनको घोषणा गर्नुपर्ने दिन आउँदैछ’ देउवाले भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको राष्ट्रवादको नारा लम्पसारवादमा परिणत भएको बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सञ्चालनका लागि सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई भन्दा बढीको समर्थन हुनेगरी सरकारमा सबैलाई ल्याउन खोज्नु रहस्यमय भएको बताए । ‘यो घटना रहस्यमय र शंकास्पद छ, कांग्रेस समयमै सतर्क हुनुपर्छ’ उनले भने, ‘संविधान संशोधनको चर्चा, प्रादेशिक संसदमा प्रधानमन्त्रीको सम्बोधन, लोकतान्त्रिक संरचनामाथि नियन्त्रित अभ्यास राज्यसत्ता केन्द्रीकृत गर्ने योजनाबाट आएको छ । यसका विरुद्ध हामी लड्नुपर्ने हुन्छ ।’ आजको कान्तिपुरबाट ।