धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले गरे मन्त्री आलेको प्रशंसा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले गरे मन्त्री आलेको प्रशंसा



काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो निर्णय गरेको’ भन्दै आलेलाई धन्यवाद दिएका हुन् ।

अघिल्लो केपी ओली नेतृत्वको सरकारले संग्रहालयभित्र बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनलाई रेस्टुरेन्ट चलाउन दिने निर्णय गरेको थियो । ऐतिहासिक दरबार संग्रहालयलाई व्यापारमा लगाउन लागिएको भन्दै विरोध भएपछि सोमबार पर्यटनमन्त्री आलेले त्यससम्बन्धी निर्णय कार्यान्वयन रोक्न निर्देशन दिएका थिए ।

‘नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोक्नुभयो, राम्रो गर्नुभयो भनेर प्रधानमन्त्रीले धन्यवाद भन्नुभएको छ,’ पर्यटनमन्त्री आलेले भने । यसअघि पनि विभिन्न लोकप्रिय निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमै पर्यटनमन्त्री आलेको प्रशंसा गरे ।

अघिल्लो सरकारले नारायणहिटीभित्र क्याफ्टेरिया चलाउन दिने प्रक्रिया सेटिङका आधारमा गरेको पर्यटन मन्त्रालय स्रोत बताउँछ । बतास अर्गनाइजेसनअन्तर्गतका बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालि, होटेल आनन्द प्रालि र बतास एसोसिएट्स मात्र प्राविधिक रूपमा टेन्डरमा योग्य हुने गरी टेन्डरसम्बन्धी कागजपत्र बनाइएको थियो । तीन कम्पनीमध्ये धेरै भाडा कबोल गर्ने बिपिएसले गत वर्ष पुसमा ठेक्का पाएको थियो ।