एसपीपी रद्ध गरेकै कारण अमेरिकाले देउवाको भ्रमण रद्ध गरेको खुलासा
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको खुलासा गरेका छन् ।
शुक्रवार काठमाडौँमा पार्टीको वागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका हुन् । उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताए ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको जिकिर गरे ।
उनले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको उल्लेख गरे ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गरे ।