प्रचण्डलाई फुरुङ्ग पारेको देउवाको त्यो ‘स्टेटमेन्ट’ - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

प्रचण्डलाई फुरुङ्ग पारेको देउवाको त्यो ‘स्टेटमेन्ट’



काठमाडौं- काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज उद्घाटन भएको महाधिवेशन मंगलबार चल्ने छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने दङ्ग परेका छन् । आफ्नै महाविधेशनमा शुभकामना दिन आएका प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर देउवाले प्रचण्डको तारिफ गरेपछि प्रचण्डले पनि तारिफ गरेका छन् ।

महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले महासचिव शंकर पोखरेललगायतका नेता प्रज्ञा भवन पुगेका थिए।

अन्य नेताहरूले विभिन्न किसिमले सुभकामना दिएपनि कार्यक्रममा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकअर्काको प्रशंसामा समय खर्चिएका थिए। अन्य पार्टीका नेताहरुको सम्बोधन सकिएपछि बोलेका प्रधानमन्त्री देउवाले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान गरेको बताए।

त्यसक्रममा प्रधानमन्त्री देउवाले प्रचण्डकै अगुवाइमा संविधान बनेको टिप्पणी गरेका थिए। देउवाले प्रचण्डको प्रशंसा गर्दै भने, ‘दाहालजीले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ। संविधान बनाउने काममा उहाँको ठूलो योगदान छ। उहाँकै अगुवाइमा संविधान बनेको छ। समावेशी छ, समानुपातिक छ, गणतन्त्र छ। यो महत्वपूर्ण छ, यो काममा उहाँको महत्वपूर्ण योगदान छ।’

संविधान निर्माणमा प्रचण्डको भूमिकाबारे देउवाले राखेको भनाइको पनि उलने प्रशंसा गरे। प्रचण्डले भने, ‘बडो इमान्दारिकता पूर्व माओवादीको भूमिकाबारे जे भन्नुभयो, साँच्चै राम्रो ढंगले भन्नुभयो ।’

‘देउवाजी बडो सुन्दर बोल्नुभयो,’ आइतबार माओवादी केन्द्रको महाधिवेशनमा सम्बाधेन गर्दै प्रचण्डले भने, ‘उहाँ बडो सोझो पनि देखिनुहुन्छ । तर, उहाँले इतिहासमा खास–खास ‘स्टेटमेन्ट’ दिनु भएको छ । प्रधानमन्त्री हुँदा विद्रोही नेतालाई बडो बहादुर भनिदिनुभयो । यो सामान्य खालको कुरा होइन ।’

महाधिवेशन उद्घाटन समारोहको अन्तिममा बोलेका प्रचण्डले प्रधानमन्त्री देउवाको प्रशंसामा लामै समय खर्चिएका थिए ।

देउवाको प्रशंसाबाट दंग परेका प्रचण्डले भने, ‘बडो संक्षिप्त बोल्ने हाम्रो प्रधानमन्त्री जी। आज बडो सुन्दर बोल्नुभएको लाग्यो। कस्तो मिठो बोल्न सक्याजस्तो लाग्यो। उहाँ मान्छे बडो सोझोजस्तो पनि, इनोसेन्ट हो कि जस्तो पनि। सजिलै भन्दिनु भयो– यो सबै प्रचण्डले नै भयो है, नत्र हुन्थेन भन्दिनु भो उहाँले त। तर ठूलै स्टेटमेन्ट भन्दिनु भो। म प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’

प्रधानमन्त्री देउवाले इतिहासको खास–खास मोडमा ठूल्ठूला स्टेटमेन्ट दिएको समेत बताए। देउवाले प्रधानमन्त्री हुँदा आफूलाई प्रचण्ड देशको बहादुर नेता हो भनेको र त्यसको ठूलो प्रभाव परेको समेत उनको भनाइ थियो।

‘हामी शान्ति प्रकृयामा आउने तयारी गर्दै थियौँ। उहाँले भन्दिनु भो–प्रचण्ड एउटा बहादुर नेता हो नेपालको। म युद्ध गरिराख्या छु। उहाँ प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भनेर भन्दिनु भयो। बडो सहज ढंगले भन्दिनु भो तर त्यसको बडो जबर्जस्त प्रभाव देशमा पर्‍यो,’ प्रचण्डले भने।

उनले अगाडि थपे, ‘आज परिवर्तनका निम्ति, संविधान सभाका निम्ति, संविधानका निम्ति, गणतन्त्र र शान्तिसम्झौताका निम्ति प्रचण्डको भूमिकाबारे जे बोल्नु भो, त्यसका लागि हृदयदेखि आभार भन्न चाहन्छु।’ उनले थपे, ‘मलाई त अलि अलि डर लागेको छ, कतै आज कांग्रेसका उहाँको आलोचना हुन्छ कि ।’

गठबन्धन निरन्तर जानेबारे देउवाले बोलेको कुराको पनि प्रचण्डले तारिफ गरे। उनले भने, ‘उहाँले गठबन्धन परसम्म जान्छ भन्नुभयो । हामीलाई चाहिएको त्यही हो ।’

एमसीसीबारे देउवाले राखेको भनाइ भने व्यक्तिगत भएको प्रचण्डको भनाइ छ । ‘एमसीसीबारे उहाँले आफ्नो विचार भन्न्नुभयो,’ उनले भने, ‘हामी छलफल गर्र्दैं छौं, छलफल गरेर तय गर्र्छौं भन्नुभयो । यो बडो ठूलो कुरा हो ।’