देउवालाई सघाए बापत प्रकाशमानलाई ठूलो भाग - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

देउवालाई सघाए बापत प्रकाशमानलाई ठूलो भाग



काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनमा पार्टी सभापती बन्न शेरबहादुर देउवालाई सघाएबातप प्रकाशमान सिंहले ठुलै भाग पाउने भएका छन् । तत्कालिन समयमा भएको लेनदेन अनुसार काठमाडौको मेयरमा सिंह पत्नी सिर्जना सिंहले मौका पाउने भएकी छन् ।

पार्टीको आन्तरिक शक्ति संघर्षले अर्को मोड नलिएमा कांग्रेसले काठमाडौं महानगरको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरिसकेको छ ।

त्यसरी सिफारिस भएको नाम प्रदेश हुँदै केन्द्रमा जाने र केन्द्रीय कार्यसमितिअन्तर्गत बन्ने संसदीय समितिले महानगरको उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।

संसदीय समिति गठन भएका कारण यसपटक केन्द्रीय कार्यसम्पादन समिति बैठकले महानगर उम्मेदवार चयन गर्ने तयारी कांग्रेसको छ ।

त्यसका लागि शुक्रबार कांग्रेसले बैठक बोलाएको छ । बालुवाटार स्रोतका अनुसार काठमाडौं महानगरमा सिर्जनालाई प्रमुखको उम्मेदवार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि नै बचन दिइसकेका छन् । सत्ता गठबन्धनको बुधबारको बैठकले काठमाडौंसहित तीन महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने औपचारिक निर्णय गरेपछि सिर्जनाको नाम अघि बढेको हो ।

‘ठूलै बदलाब नआए सिर्जना नै उम्मेदवार हुने करिब निश्चित छ,’ प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘गणेशमान र मंगलादेवी सिंह परिवारको सदस्य तथा आफ्नै राजनीतिक पृष्ठभूमिसमेत भएको महिलालाई उम्मेदवार बनाउँदा राम्रो सन्देश जान्छ भन्नेमा प्रधानमन्त्रीजी सकारात्मक हुनुहुन्छ ।’

महानगर कार्यसमितिले नगर सभापति नीलकाजी शाक्य, सचिव सुशन वैद्य, हालकी उपमेयर हरिप्रभा खड्गी र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको छ ।

उम्मेदवारको आकांक्षीमध्येकी खड्कीले गणेशमान परिवारबाट राजनीतिमा दीक्षित भएकी सिर्जना महानगरको नेतृत्व हाँक्न सक्षम रहेको प्रतिक्रिया दिइन् ।

काठमाडौंको आन्तरिक राजनीतिमा प्रकाशमान सिंहको भूमिका निर्णायक हुँदै आएको छ । १४ औं महाधिवेशनमा सभापति बन्न सिंहको निर्णायक भूमिका भएकाले देउवाले सिर्जनालाई प्रमुखको उम्मेदवार बनाएर त्यसको गुनसमेत तिर्न खोजेको कांग्रेस नेताहरू बताउँछन् ।

महाधिवेशनमा सिंह आफैं सभापतिका प्रत्याशी थिए । देउवासहित नेताहरू शेखर कोइराला, सिंह र विमलेन्द्र निधि चार जनाबीचको प्रतिस्पर्धामा ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा देउवा र कोइरालाबीच भएको प्रतिस्पर्धामा सिंह देउवाको पक्षमा लागेका थिए ।

सभापतिको प्र्रतिस्पर्धामा अपेक्षाकृत मतसमेत प्राप्त गर्न नसकेर तेस्रो स्थानमा पुगेपछि सिंहले पारिवारिक विरासतका रूपमा श्रीमतीलाई अघि सार्न खोजेको कतिपय नेताहरूको बुझाइ छ ।